मध्यम आए भएका ग्राहक तान्न नयाँ रणनीति बनाउँदै हुन्डाई, सुजुकी र महिन्द्रा

काठमाडौं । हुन्डाई, सुजुकी र महिन्द्राले भारतीय बजारमा कार उत्पादन गरेर मध्यम आय भएका मानिसको कार चढ्ने सपना पूरा गर्न थालेको लामो समय भयो ।

महिन्द्रा र सुजुकीले ४ दशकभन्दा बढी समयदेखि गाडी उत्पादन गर्दै आएका छन् । कोरियन निर्माता हुन्डाईले भारत प्रवेश गरेको २५ वर्ष पूरा भइसकेको छ । यस्तोमा मध्यम आय भएका उपभोक्तालाई ध्यानमा राखेर गाडी उत्पादन गर्ने यी तीनवटै ब्राण्ड नयाँ टेक्नोलोजीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अब भने तयार भएको देखिन्छ ।

भारतकै सबैभन्दा ठूलो कार निर्माता सुजुकीले हाइब्रिड टेक्नोलोजीको विस्तार तीव्र बनाउने र विद्युतीय कारमा क्रमिक रूपमा अगाडि बढ्ने योजना तयार गरेको छ । कम्पनीले आफ्नो प्योर हाइब्रिड ग्राण्ड भिटाराको सफलतासँगै अन्य मोडललाई प्योर हाइब्रिड टेक्नोलोजीमा अपग्रेड गर्ने भएको छ ।

साथै, इन्डो–जापानी ब्राण्डले ईभीएक्स इलेक्ट्रीक एसयूभी पनि सन् २०२४ मा बजारमा ल्याएर उपभोक्तालाई आफू नयाँ टेक्नोलोजीको लागि तयार रहेको जनाउ दिँदैछ ।

अर्को ठूलो उत्पादक कोरियन ब्राण्डले ईभीमा ठूलै सफलता हात पारे पनि भारतीय उपभोक्ता अनुसारको गाडी ल्याउन सकेको छैन । मूल्यका हिसाबले महंगो गाडी ग्राहकको रोजाइ नपर्ने भएको कारण आयोनिक-५, आयोनिक-६ र कोना जस्ता ईभी भए पनि भारतमा राम्रो व्यापार पाउन सकेको छैन ।

त्यसैले हुन्डाईले आफ्नो सफल मोडल क्रेटालाई सन् २०२४ मा नै बजारमा ल्याउने गरी काम गरिरहेको छ । कम्पनीले मूल्यको हिसाबले पनि मध्यम आय भएका उपभोक्ता समेट्ने गरी नयाँ क्रेटा ल्याउन लागेको हो ।

भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले अहिल्यै एक्सयूभी ४०० ईभी बिक्री गर्दै आएको छ । यद्यपि, एक्सयूभी ४०० को बिक्री राम्रो हुन सकेको छैन् । सन् २०१० बाटै ईभीमा काम गर्दै आएको महिन्द्राले आफ्ना ठूला एसयूभी इलेक्ट्रीकमा ल्याउने योजना बनाएको छ ।

सन् २०२४ र २०२५ मा नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याएर धेरैको मन जित्ने प्रयासमा रहेको महिन्द्राले ईभीमा राम्रो योजना तयार गरेर अगाडि बढिरहेको छ ।


Back_to_top