प्रतिलिटर ३५ किमी माइलेज दिने सुजुकी फ्रङ्क्स आउँदै

काठमाडौं । सुजुकीले भारतीय बजारमा उत्पादन गरेको फ्रङ्क्स क्रसओभर मोडल प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने हाइब्रिड इन्जिनमा आउने भएको छ ।

हाइब्रिड बादशाह टोयोटासँगको सहकार्यमा सुजुकीले यसअघि ग्राण्ड भिटारा हाइब्रिड इन्जिनमा ल्याएको थियो । हाइब्रिड भिटाराको सफलतासँगै सुजुकीले फ्रङ्क्स क्रसओभरलाई आफ्नै प्योर हाइब्रिड इन्जिनमा ल्याउन लागेको हो ।

विश्व अटोमोवाइल बजार ब्याट्री इलेक्ट्रीक टेक्नोलोजीमा गएपनि जापानीज कम्पनीहरु सुजुकी, टोयोटा र होन्डा जस्ता कम्पनीहरु अझै हाइब्रिड टेक्नोलोजीलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको देखिन्छ ।

सुजुकीले भारतमा उत्पादन गर्ने फ्रङ्क्सपछि बलेनो तथा स्वीफ्ट र अन्य मास सेग्मेन्टका साना एमपीभी पनि हाइब्रिड इन्जिनमा ल्याउने योजना बनाएको हो ।

कम्पनीले साना गाडीमा प्रयोग गर्नको लागि टोयोटाको सिरिज प्यारलल् हाइब्रिड सिस्टमको सट्टामा आफ्नै हाइब्रिड टेक्नोलोजी विकास गर्ने जनाएको छ । सुजुकीको सिरिज हाइब्रिड पावरटे«न एकदमै कम बजेटमा उपलब्ध हुने बताइएको छ ।

सिरिज हाइब्रिड पावरट्रेनको कोड नेम ‘एचइभी’

नेपाली बजारमा उपलब्ध निसान एक्सट्रयालको ईपावर सिस्टम जस्तै हाइब्रिड सुजुकीले पनि बनाउन लागेको हो । यसमा पेट्रोल इन्जिनको मूख्य काम भनेको विजुली उत्पादन गर्ने मात्र हो । इन्जिनले गाडीको ह्वीललाई घुमाउँदैन ।

उक्त टेक्नोलोजीमा गाडीको फ्रन्ट ह्वीललाई छुट्टै इलेक्ट्रीक मोटरले मात्र पावर दिन्छ । यसको लागि कारमा रहेको सानो ब्याट्रीप्याक (१.५ देखि २ किलोवाट आवरको) वा पेट्रोल इन्जिनले उत्पादन गरेको विजुली सिधै प्रयोग गर्छ ।

सिरिज हाइब्रिड सिस्टमलाई रेन्ज एक्टेन्डर हाइब्रिड सिस्टम समेत भनिने गरेको छ । कम्पनीले यो पावरट्रेनको लागि अल न्यू जेड१२ई सिरिजको तीन सिलिण्डर पेट्रोल इन्जिन प्रयोग गर्नेछ ।

यसको मुख्य विशेषता भनेको कम मूल्यमा इन्जिन तयार हुनु हो । यो टेक्नोलोजीमा पेट्रोल इन्जिन र ह्वीलका बीच कुनै मेकानीकल कनेक्सन हुँदैन । जसले गर्दा ओभरअल डिजाइन सामान्य हुनुका साथै कम पाट्सको प्रयोग हुन्छ ।

यसको संचालन र मर्मत सम्भार खर्च एकदमै कम आउने र विश्वसनियता समेत बढाउने बताइएको छ ।

विशेषत सहरी क्षेत्रमा गुड्ने साना कारहरु निरन्तर गतिमा गुडिरहँदैनन् । स्टप एण्ड गो भइरहने यस्ता सवारीसाधनलाई यो हाइब्रिड सिस्टमले एकदमै राम्रो पफर्मेन्स दिन्छ ।


Back_to_top