लाइसेन्स पाउन सडकमै गाडी चलाउनु पर्ने

काठमाडौं । सडकमा नै गाडी चलाएर परिक्षण पास गरेपछि मात्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने व्यवस्था गर्न सुझाव दिइएको छ । यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।

अहिले लिखित परिक्षा पास गर्नेले प्रयोगात्मक परिक्षा दिन पाउने व्यवस्था छ । त्यो प्रयोगात्मक परिक्षा सानो स्थानमा हुने भएको कारण सुरक्षाको हिसावले उचित नभएको भन्दै कार्यदलले सडकमै प्रयोगात्मक परिक्षा गर्ने व्यवस्था हुनु पर्ने सुझव दिएको हो ।

यातायात क्षेत्रमा भएका चुनौतीहरू र त्यसलाई समाधान गर्न आवश्यक सुझावहरूसहित प्रतिवेदन तयार पार्न २०७९ माघ ११ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ कार्यदल समिति गठन गरेका थिए । समितिले प्रतिवेदन विभागका महानिर्देशक उद्ववप्रसाद रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बुझाएको थियो ।

आज माघ २९ गते बस्ने मन्त्री परिषदको बैठकमा ‘सवारी तथा यातायात ऐन, २०८०’ पेस गर्नु पर्ने यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धबप्रसाद रिजालले यसअघि नै जानकारी दिएका थिए ।

नयाँ ऐनले लाइसेन्सको समस्या हटाउन १० वर्षमा एक पटक नविकरण गर्ने, प्रदेशबाटै लाइसेन्स छपाई र वितरण गर्ने, सार्वजनिक यातायातका चालकलाई ब्यवसायीक लाइसेन्स दिने, निजी साधन चालकलाई साधारण लाइसेन्स दिने जस्ता ब्यवस्था समेटेर नयाँ ऐन आउने अपेक्षा गरिएको छ ।

सम्भवत अनलाइन प्रणालीबाटै परीक्षाको लागि दस्तुर बुझाउने र विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा संचालन गर्ने व्यवस्था नयाँ ऐनले गर्न सक्ने देखिन्छ । यी काम लागु गर्नुपर्ने कार्यदलले बुझाएको सुझावमा उल्लेख छ ।


Back_to_top