काठमाडौं । लकडाउनको कारण सिथिल बनेको प्यासेन्जर कारको बिक्रीमा सुधार आएको छ । शोरुमहरु खुलेको तेस्रो महिनामा कम्पनीहरुको बिक्री अघिल्लो वर्षको जुलाई महिनाको हाराहारीमा आएको हो ।
भारतमा कार उत्पादन गर्ने ४ कम्पनीले सन् २०१९ को जुलाईको तुलनामा बिक्री बढाएका छन् । यसरी बिक्री बढाउनेमा मारुती सुजुकी, टाटा, रेनो र एमजी कम्पनी रहेको छ ।
सन् २०१९ को जुलाईमा कुल १ लाख ९९ हजार ५३४ यूनिट प्यासेन्जर कार बिक्री भएको थियो भने गत जुलाई महिनामा १ लाख ९७ हजार ५२३ यूनिट कार बिक्री भएको छ । यसले कोरोना संकटपछि अटोमोवाइल व्यवसाय लयमा फर्किएको अनुमान लगाउन थालिएको छ ।
जुलाईमा मारुती सुजुकीले ९७ हजार ७६८ यूनिट कार बिक्री गरेको छ । यो अघिल्लो वर्षको जुलाईको तुलनामा १.३ प्रतिशतले बढी हो । मारुतीको अल्टो र एस–प्रेसो सबैभन्दा बढी बिक्री भएका छन् ।
दोस्रो स्थानमा रहेको हुन्डाईको बिक्रीमा २.१ प्रतिशतले गिरावट आएको छ । कम्पनीले जुलाईमा ३८ हजार २०० यूनिट कार बिक्री गरेको छ । हुन्डाईको बिक्रीमा भेन्यू, आई २०, भर्ना र नयाँ जेनेरेशन क्रेटाको हिस्सा सबैभन्दा बढी छ ।
टाटा मोटर्सले आफ्नो बिक्रीमा ४३.१ प्रतिशतले वृद्धि गरेको छ । सन् २०१९ जुलाईमा १० हजार ४८५ यूनिट कार बिक्री गरेको कम्पनीले २०२० जुलाईमा १५ हजार यूनिट कार बिक्री गरेको छ । टाटाको बिक्रीमा नेक्सन, नेक्सन इभी, अल्ट्रोज र टियागोको भूमिका मुख्य रह्यो ।
महिन्द्राको बिक्रीमा ३४.५ प्रतिशतले गिरावट आएको छ । जुलाईमा कम्पनीले ११ हजार २५ यूनिट कार बिक्री गरेको छ । किया मोटर्सको बिक्री भने ८ हजार ५०२ यूनिट रहेको छ ।

सबैभन्दा बढी बिक्री हिस्सा बढाउने कम्पनी रेनो बनेको छ । कम्पनीले अघिल्लो वर्षको जुलाईको तुलनामा ७५.५ प्रतिशतले बिक्री बढाएको छ । कम्पनीको बिक्री बढ्नुमा नयाँ ट्राइबर, फेसलिफ्ट क्वीडको मुख्य भूमिका रहेको छ ।
टोयोटाको बिक्रीमा उच्च गिरावट आएको छ । कम्पनीले अघिल्लो वर्षको जुलाईको तुलनामा ४८.३ प्रतिशतले बिक्री गुमाएको छ । कम्पनीले गत जुलाईमा ५ हजार ३८६ यूनिट मात्र बिक्री गर्न सकेको थियो ।
होन्डाको बिक्रीमा पनि ४७.५ प्रतिशतले गिरावट आएको छ । कम्पनी २०२० जुलाईमा ५ हजार ३८३ यूनिट कार मात्रै बिक्री गर्न सफल भएको छ ।
फोर्डको बिक्रीमा ३७.३ प्रतिशतले गिरावट आएको छ । कम्पनीले जुलाई महिनामा ३ हजार ९३७ यूनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।
अघिल्लो वर्षको जुलाईको तुलनामा एमीको बिक्रीमा ३९.६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो महिना २ हजार १०५ यूनिट एसयूभी बिक्री गरेको छ ।
जुलाई महिनामा फक्सवागनले १ हजार ८८७ यूनिट कार बिक्री गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २५.१ प्रतिशतले कम हो । साथै स्कोडाको बिक्रीमा १४.३ प्रतिशतले कमी आएको छ । कम्पनीले गत महिना ९२२ यूनिट कार बिक्री गरेको छ ।
त्यसैगरि, निसानको बिक्रीमा ३९.९ प्रतिशतले गिरावट आएको छ । कम्पनीले एक महिनामा ७८४ यूनिट कार बिक्री गरेको हो ।
जीपको बिक्रीमा पनि गिरावट आएको छ । जीपले जुलाईमा ४०० यूनिट एसयूभी बिक्री गरेको थियो । उक्त बिक्री अघिल्लो वर्षको जुलाईको तुलनामा २१.७ प्रतिशतले कम हो ।

