काठमाडौं । भारतमा निर्माण हुने सम्पूर्ण दुईपाँग्रे सवारी साधनहरूमा अनिवार्य रूपमा एन्टि लक ब्रेकिङ सिस्टम (एबीएस) लागू हुने भएको छ ।
भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सन् २०२६ जनवरी १ देखि उक्त व्यवस्था लागू गर्ने भएकाे हो ।
यससँगै अब भारतमा उत्पादन हुने मोटरसाइकल र स्कुटरमा अनिवार्य एबीएस फिचर दिनुपर्नेछ । सवारी साधनको इन्जिन आकार जत्रोसुकै भए पनि एबीएस सिस्टम अनिवार्य रूपमा जडान गर्नुपर्ने मन्त्रालयले जनाएको हो ।
यसका लागि सरकारले ६/७ महिना अघि नै सबै दुईपाँग्रे कम्पनीहरूलाई जानकारी दिइसकेको थियो । विशेष गरी १२५ सीसीभन्दा कम क्षमता भएका दुईपाँग्रे साधनहरूमा प्राविधिक परिवर्तन गर्नुपर्नेछ।
हाल १२५ सीसीभन्दा ठूलो इन्जिन क्षमता भएका केही दुईपाँग्रे सवारी साधनहरूमा मात्रै एबीएस सिस्टम पाइन्छ । भारतीय बजारमा चल्ने लगभग ४० प्रतिशत दुईपाँग्रे साधनहरूमा यो सुरक्षा फिचर छैन ।
भारतमा एबीएस अनिवार्य हुने भए पनि नेपालमा भने लागू नहुन सक्छ । किनभने हाल अधिकांश ब्राण्डका मोटरसाइलक/स्कुटर नेपालमै एसेम्बल हुँदै आएका छन् । भारतबाट तयारी अवस्थामा ल्याइने मोटरसाइलक/स्कुटर भने एबीएस फिचरमै आउने छन् ।
एबीएसले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्छ । यसले अचानक ब्रेक लगाउँदा वा पावरले ब्रेक समाउँदा टायर लक हुनबाट रोक्न मद्दत गर्दछ । यसले चालकलाई साधनको नियन्त्रण राख्न, चिप्लिने र दुर्घटना हुने जोखिम पनि कम गर्छ ।
अध्ययन अनुसार एबीएसले दुर्घटनाको सम्भावनालाई ४५ देखि ५० प्रतिशतसम्म घटाउन सक्छ ।

