काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा करको भारी बोकाइएका मोटरसाइलले अहिले आएर राम्रो बिक्री पाउन थालेका छन् । पछिल्लो समय नेपालमै एसेम्बल सुरू भएसँगै ठूला सीसीका मोटरसाइकलको मूल्यमा गिरावट आयो र बिक्री पनि बढ्यो ।
सन् २०२५ को डिसेम्बर १५ तारिखसम्ममा १४ हजार ५६५ युनिट ३०० सीसीभन्दा माथिका मोटरसाइकल आयात भएसँगै यसको बढ्दो बिक्री तथ्यांकमै देखिएको हो ।
अहिले हाम्रो बजारमा ३०० सीसी माथिका मोटरसाइकल बिक्री गर्ने कम्पनीमा रोयल इनफिल्ड, बजाज, ट्रायम्फ, सीएफमोटो, होन्डा, टीभीएस, केटीएम लगायत ब्राण्ड छन् ।
यति धेरै कम्पनीले ३०० सीसी माथिका मोटरसाइकल आयात गरे पनि कुल आयातको ८८ प्रतिशत हाराहारी एउटै ब्राण्डले ल्याएको देखिन्छ । यति धेरै बजार हिस्सा भएको ब्राण्ड रोयल इनफिल्ड हो ।
कुन ब्राण्डको आयात कति ?
नेपालका लागि बिग बाइक सेग्मेन्ट मान्न सकिने ३०० सीसी माथिको सेग्मेन्टमा आयात भएको १४ हजार ५६५ युनिट मध्ये रोयल इनफिल्डले एक्लैले १२ हजार ७७२ युनिट मोटरसाइकल आयात गरेको हो । जुन कुल आयातको ८८ प्रतिशत हाराहारी हो ।
अल्फा अटोमोटिभ आधिकारिक बिक्रेता रहेको रोयल इनफिल्डको क्लासिक ३५०, हन्टर, मेटिअटर, हिमालयन जस्ता मोडल बजारमा बिक्री हुँदै आएका छन् । विगत तीन वर्षदेखि नेपालमै उत्पादन थालेसँगै रोयल इनफिल्ड निकै आक्रमक बजार विस्तारमा देखिन्छ ।
दोस्रो धेरै मोटरसाइकल आयात गर्नेमा ट्रायम्फ परेको छ । नेपालमा बिक्री सुरू भएदेखि नै चर्चा रहेको ट्रायम्फका उत्पादन सन् २०२५ को साढे एघार महिनामा १ हजार २४८ युनिट आयात भएको देखिन्छ ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले स्क्रयाम्बलर र स्पीड ४०० गरी दुई मोडल नेपालमा बिक्री गर्दै आएको छ ।
हंशराज हुलाशचन्द एण्ड कम्पनीले नै आयात गर्ने बजाज डोमिनार ४०० र पल्सर एनएस ४०० मिलाएर ३५४ युनिट आयात गरेको छ ।
नेपालमा बिक्री हुने महँगो मध्येको एक ब्राण्ड सीएफ मोटोको ‘४५० एमटी’ पनि राम्रो संख्यामा आयात भएको देखिन्छ । कम्पनीले यस अवधिमा १०५ युनिट मोटरसाइकल आयात गरेको छ ।
केटीमएमले ३९० एड्भेन्चर मोडल ७२ युनिट आयात गर्दा प्रिमियम मोटरसाइकलमा होन्डाले सीआरएफ १२ युनिट, टीभीएस आरटीआर ३१० दुई युनिट आयात गरेको भन्सार तथ्यांकमा देखिएको छ ।

