काठमाडौं । नेपालमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन चीन र भारतबाट सबैभन्दा धेरै आयात भइरहेको छ । ब्राण्ड, मोडल र पफर्मेन्समा पनि चिनियाँ स्कुटर भारतीयभन्दा राम्रा देखिन्छन् ।
अहिले करिब ३ दर्जन चिनियाँ ब्राण्डका स्कुटर तथा मोटरसाइकल नेपालमा छन् भने भारतीय ब्राण्डको संख्यामा पनि दुई दर्जन पुग्न लागि सकेका छन् ।
नेपाल सरकारले कुनै पनि प्रोडक्टको सहि तरिकाले गुणस्तर मापन गर्न सकेको छैन । यहाँको बाटो अनुसार उपयुक्त मापदण्ड निर्माण गरेर आयात गर्न दिनु पर्नेमा त्यतातिर चासो दिएको देखिदैन ।
गत आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने चिनियाँ ईभीको तुलनामा भारतीय ईभीको आयात कमजोर देखिएको छ । यसको सिधा अर्थ भारतीय ईभीलाई ग्राहकको छनोटमा परेको छैन भन्ने हो ।
आर्थिक वर्ष २०७९/८० मा भारतमा उत्पादन भएको दुईपाँग्रे १ हजार ७८८ यूनिट आयात भएको छ । तर, त्यहि अवधिमा चिनियाँ ब्राण्डका ५ हजार २८९ यूनिट नेपाल आयात भएको देखिन्छ ।
अझ पछिल्लो ६ महिनाको आयात झनै कमजोर छ । माघदेखि असार मसान्तसम्ममा केबल ६०२ यूनिट मात्र भारतबाट इलेक्ट्रीक दुई पाङ्ग्रे आयात भएको देखिन्छ ।
पछिल्लो ४ महिनामा भारतमा उत्पादित ओकिनवा, हिरो, इइभीइ, एम्पेर, इभिट्रिक लगायत दजर्नौ ब्रान्डले एक यूनिटपनि स्कुटर तथा मोटरसाइकल आयात गरेको देखिदैन् ।
अधिकांस चिनियाँ ब्राण्डहरु पनि कमजोर उत्पादन ल्याएर बिक्री गर्न लागि परेको भान हुन्छ । उनिहरुले शोरुम निर्माण, सर्भिस सेन्टर संचालन, स्पेयर पार्टस् ब्यवस्थापन लगायतका कुनै पनि काम नगरी स्कुटर आयात मात्रै गरेर बेच्दै आएका छन् ।
मापदण्ड बनाउन आवश्यक
विद्युतीय साधन आफैँमा निकै महंगो टेक्नोलोजीमा आधारित छन् । यस्तो महंगो मूल्य तिरर ल्याइएका मोटरसाइकल तथा स्कुटरको लाइफ नै नहुने अवस्था अहिले विद्यमान छ ।
आयात गर्ने कम्पनीको लगानी क्षमता, पूर्वाधार र उसले ल्याउने ब्राण्डका उत्पादनको गुणस्तरमा ध्यान दिनु पर्छ । त्यसको लागि निश्चित मापदण्ड बनाएर सवारीसाधन आयात गर्न सकेको खण्डमा देश र नागरिकको हितमा हुनेछ ।


