ओरालो लाग्यो भारतीय अटो बजार, कुन कम्पनीको बिक्री कति घट्यो

काठमाडौं । पछिल्लो केही महिनादेखि भारतीय बजारमा चारपाङ्ग्रे सवारीको बिक्री निरन्तर ओरालो लागिरहेको छ । विगतका महिनामा जस्तै, जुलाई महिनामा पनि ठूला कम्पनीहरुको बिक्रीमा उच्च गिरावट आएको हाे । 

२०१८ को जुलाई र २०१९ को जुलाईको बिक्री तथ्याङ्क हेर्ने हो भने गाडीको बिक्रीमा पछिल्ला ५ वर्ष यताकै सबैभन्दा धेरै गिरावट आएको छ ।

अघिल्लो वर्षको जुलाई र यस वर्षको जुलाईको बिक्रीलाई तुलना गर्ने हो भने फियातले ५८.५, निशानले ५३.५, होन्डाले ४८.७, रेनोले ४१.१, टाटा मोटर्सले ३८.६ र मारुती सुजुकीले ३६.८ प्रतिशतले बिक्री गुमाएका छन् । 

गत वर्षको जुलाई महिनामा १ लाख ५२ हजार ४२७ युनिट कार बिक्री गरेको मारुती सुजुकीले यस वर्षको जुलाईमा जम्मा ९६ हजार ४ सय युनिट मात्र बिक्री गर्न सकेको छ । 

२०१८ को जुलाईमा १७ हजार ७९ युनिट बिक्री गरेको अर्काे भारतीय कम्पनी टाटा मोटर्सले यो वर्ष १० हजार ४ सय ८५ युनिट मात्र बिक्री गरेको छ ।

त्यस्तै, यो जुलाईमा १० हजार २५० युनिट कार बिक्री गरेको होन्डाले गत वर्षको यहि महिनामा १९ हजार ९७० युनिट बिक्री गरेको थियो ।  

रेनोको बिक्रीमा पनि उच्च गिरावट आएको छ । २०१८ को जुलाइमा ६ हजार २१७ युनिट बिक्री भएको रेनो यस जुलाईमा ३ हजार ६६० युनिट मात्र बिक्री भएको छ ।

आफ्नो बजार १०.३ प्रतिशतले गुमाएको हुन्डाईले गत वर्षको जुलाइमा ४३ हजार ४८१ युनिट बिक्री गरेको थियो भने, यस जुलाईमा जम्मा ३९ हजार १० युनिट बिक्री गरेको छ ।

यी कम्पनीका मात्रै नभई महिन्द्राको व्यापार ६.५ प्रतिशत, टोयोटाको २३.८ प्रतिशत, फोर्डको व्यापार १९.७ प्रतिशत र स्कोडाको व्यापारमा १४.६ प्रतिशतले गिरावट आएको छ ।


Back_to_top