इलेक्ट्रीक कार बिक्रीमा टाटालाई टक्कर दिँदै एमजी, कति बिक्यो क्रेटा ईभी ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो विद्युतीय कार निर्माता टाटालाई चिनियाँ ब्राण्ड एमजीले कडा टक्कर दिन थालेको छ । लामो विद्युतीय कारको लाइन अप लिएर हिडेको टाटालाई एमजीले कोमेट बिक्री सुरू गरेसँग टक्कर दिन थालेको हो ।

भारतीय बजारमा विद्युतीय कारको बिक्रीमा निरन्तर गिरावट आइरहेको छ । विभिन्न १७ ब्राण्डले विद्युतीय कार बिक्री गर्दै आएको भए पनि बिक्री भने घट्दै गएको हो । जनवरी २०२५ मा टाटाले ५ हनार २४५ युनिट विद्युतीय कार बिक्री गरेकोमा फेब्रुअरीमा २७ प्रतिशतले घटेर ३ हजार ८२५ युनिटमा सीमित भएको छ ।

एमजीले पनि जनवरीको तुलनामा फेब्रुअरीमा २७ प्रतिशतले नै बिक्री गुमाएको हो । जनवरीमा ४ हजार ४७० युनिट विद्युतीय कार बिक्री गरेको एमजीले फेब्रुअरीमा केबल ३ हजार २७१ युनिट बिक्री गर्न सक्यो ।

जनवरीमा ३३१ युनिट विद्युतीय कार बिक्री गरेको हुन्डाईले फेब्रुअरीमा ७३८ युनिट ईभी बिक्री गरेको छ । फेब्रुअरीको सेल्समा हुन्डाई क्रेटाको हिस्सा कम्पनीले एकिन नगरे पनि मिडिया रिपोर्टका अनुसार ६०० युनिट हाराहारी बिक्री भएको छ ।

धेरै ईभी बिक्री गर्ने कम्पनीको सूचीमा चौथो स्थानमा महिन्द्रा परेको छ । महिन्द्राले ४२४ युनिट एक्सयूभी-४०० बिक्री गरेको छ । पाँचौं स्थानमा रहेको बीवाइडीले २५४ युनिट विद्युतीय कार बिक्री गर्दा बीएमडब्लूले २१९ युनिट, मर्सिडिजले ६७ युनिट र सिट्रोनले ५९ युनिट ईभी बिक्री गरेको हो ।

यी बाहेक फेब्रुअरीमा भोल्भोले २१, कियाले १९, अउडीले ७, पोर्श्चेले २ र रोल्स रोयसले १ युनिट ईभी बिक्री गरेका हुन् ।

समग्रमा भारतीय बजारमा फेब्रुअरी महिनामा ८ हजार ९०७ युनिट विद्युतीय कार बिक्री भएका छन् । समग्रमा ३ लाख ८० हजार ६९१ युनिट प्यासेन्जर कार बिक्री भएको भारतमा ईभीको हिस्सा २.३३ प्रतिशत रहेको छ ।


Back_to_top