जेनजी आन्दोलनले निजी सवारीमा ३.६२ अर्बको क्षति दाबी, पाए ३६ करोड भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निजी सवारीमा साढे ३ अर्ब रुपैयाँ बढीको क्षति पुगेको भन्दै बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज २८ गतेसम्म आन्दोलनका कारण २२५६ वटा सवारीमा ३ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको क्षति पुगेको भन्दै बीमा दाबी परेको हो ।

यो बीमा गरिएका सवारी साधनको मात्रै संख्या हो । बीमा नगरिएका पनि सयौं निजी सवारीमा क्षति पुगेको थियो । अझै दाबी पर्ने क्रम जारी रहेकाले रकम बढ्न सक्ने देखिएको छ ।

३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मोटर बीमा दाबी परेकोमा हालसम्म ३६ करोड २५ लाख रुपैयाँ अग्रिम भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब १९ करोढ रुपैयाँ बढीको बीमा दाबी परेको छ । १४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३१६३ दाबी परेको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै १९ अर्ब रुपैयाँ बराबरको ६७३ वटा सम्पत्ति बीमा दाबी परेको छ । त्यस्तै, ३ करोड ३१ लाख रुपैयाँ बराबरको १८२ वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ६३ लाख रुपैयाँ बराबरको १२ वटा परिवहन र ३८ करोड ८६ लाख रुपैयाँ बराबरको ४० वटा अन्य बीमा दाबी परेको छ ।

आन्दोलनका क्रममा सयौं संख्यामा सार्वजनिक तथा निजी भवन र हजारौं सवारी साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।

प्राधिकरणका अनुसार असोज २३ गतेसम्म सबैभन्दा धेरै बीमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । कम्पनीमा ३९४ वटा पोलिसीबाट ५ अर्ब ४८ करोड रुपैयाँ बीमा दाबी परेको हो ।

त्यस्तै, दी ओरेन्टलमा ९८ वटा पोलिसीको ५ अर्ब २४ करोड, आइजीआइ प्रुडेन्सियलमा २१५ वटा पोलिसीको २ अर्ब ७९ करोड, शिखरमा ४३३ वटा पोलिसीको २ अर्ब ४१ करोड, सगरमाथा लुम्बिनीमा ३४२ पोलिसीको १ अर्ब ६० करोड, नेकोमा २५९ पोलिसीको १ अर्ब १५ करोड र हिमालयन एभरेष्टमा २८९ पोलिसीको १ अर्ब ४ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

अरु ११ वटा कम्पनीमा भने १ अर्ब रुपैयाँभन्दा बढी दाबी परेको छ । जसमा नेपाल माइक्रो इन्स्यारेन्समा सबैभन्दा कम ५९ लाख ४९ रुपैयाँको दाबी परेको छ ।


Back_to_top