जेन जी आन्दोलनमा क्षति पुगेका सवारीधनीले बीमाबाट पाए ४८ करोड भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले झण्डै ४८ करोड रुपैयाँ बीमा दाबी भुक्तानी पाएका छन् ।

आन्दोलनबाट २२७० निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ४४ करोड २५ लाख ८६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो ।

सोमध्ये कात्तिक ९ गतेसम्म ४७ करोड ७७ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

आन्दोलनका क्रममा हजारौं निजी तथा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरिएको थियो । जसमा सरकारी सवारी साधनको बीमा नै नगरिएकाले दाबी परेको छैन । त्यस्तै, निजीतर्फ पनि क्षति पुगेका केही सवारी साधनको बीमा नभएको पाइएको छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा गरेकाहरूले मात्रै सवारी साधन क्षति भए बापत क्षतिपूर्ति पाउँछन् ।

प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब २३ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ ।

१४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३१८७ दाबी परेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै १९ अर्ब १ करोड रुपैयाँ बराबरको ६७३ वटा सम्पत्ति बीमा दाबी परेको छ ।

त्यस्तै, ३६ करोड ७९ लाख रुपैयाँ बराबरको १९२ वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ६६ लाख रुपैयाँ बराबरको १२ वटा परिवहन र ३८ करोड ७१ लाख रुपैयाँ बराबरको ४० वटा अन्य बीमा दाबी परेको छ ।


Back_to_top