निजी क्षेत्रबाट ऊर्जामा लगानी गर्दै नेपालको पूर्वाधार विकासमा चासो र गहन अध्ययन गर्न रुचाउने ज्ञानेन्द्रलाल प्रधान आफ्नो कुरा प्रस्ट राख्न सक्ने ब्यवसायीमा पर्छन् । विगत २ दशकभन्दा बढी समयदेखि ऊर्जा पूर्वाधारका विषयमा विभिन्न फोरममा आफ्नो सटिक र दह्रो उपस्थिति जनाउँदैआएका प्रधान आफूलाई गाडीको सौखिन ब्यक्तिको रुपमा चित्रण गर्छन् । मेरोअटो डटकमले उनीसँग गरेको ५ प्रश्नको उनले दिएको उत्तरको सम्पादित अंशः
नेपालले किन सडक पूर्वाधार विकासमा काम गर्न सकेन, के साँच्चै हाम्रो विकास कमजोर रहेको हो ?
नेपालमा पछिल्लो समय विकास भएन भन्ने तर्क हामी नै गरिरहेका छौं, त्यस्तो होइन । विकास भएको छ, निजी क्षेत्रले लगानी बढाएको छ । व्यावसायिक क्षमता देखिएको छ । नभएको ठूला पूर्वाधार विकासमा लगानी हो । निजी क्षेत्रले ऊर्जाजस्तो संबेदनशिल र ठूलो लगानी चाहिने क्षेत्रमा समेत लगानी गरिरहेको छ ।
मलाई हेर्नुस्, म गाउँको धनीमानी बाहुको छोरा थिए । तर, मैले बिजुली बलेको देखेको थिइन, जहाज चढ्ने कल्पनामात्र थियो, टेलिफोन थिएन, कार किनेर घरमा ल्याउने भन्ने विषय सोच्नसक्ने किसिमको थिएन । आज हेर्नुस्, म आफैँ हाइड्रोपावर बनाउँछु, घरमा ६ वटा गाडी छ, फोन र हवाईजहाज पनि मेरो क्षमतामा परिरहेको छ । मेरै जीवनमा अकल्पनीय कुरा मैले पाएको छु भने विकास भएन भन्न त मिलेन ।
साइकल, मोटरसाइकल, बयलगाडा, रिक्सा, ट्रक, ट्रिपर, बस, माइक्रोबस, मिनिबस, जीप, कार, भ्यान, ट्याम्पो ट्रयाक्टर । अनि अस्तव्यस्त नभएर के हुन्छ ? यो मेनेज गर्न नजानेर हो ।
अब राज्यको उपस्थिति आवस्यक छ । पूर्वाधारमा लगानी गर्न अब ढिला भइसकेको छ । त्यसका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनुपर्छ । साउथ एसियाली देशमा नै ढिला काम गर्ने परिपाटी रहेको छ । हामीकहाँ भएका निर्माण ब्यवसायी कमजोर भए । कलंकी – थानकोटको बाटो निर्माण गर्न त्यत्रो समय लाग्छ ? मेलम्चीले खनेका बाटो पुनर्निर्माण गर्न यत्रो समय किन लाग्यो ? जुन काम गर्न ६ महिना लाग्दैन, त्यो कामलाई ६ वर्षमा पनि पूरा गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।
बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगिसकेको छ । काम नगर्नेलाई दह्रो जरिवानाको ब्यवस्था गर्नुपर्छ । हाम्रो काम गर्ने परिपाटीमा सुधार ल्याउनुपर्छ, बेसरेट निर्माण गरेर समयसीमामा काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । यहाँ जे गरे पनि हुन्छ भन्ने मानसिकताले निर्माण ब्यवसायी अगाडि बढेकाले निर्माण प्रक्रिया निकै कमजोर भएको हो ।
सडक पूर्वाधार लथालिङ्ग भएकै बेला रेलको विषयले निकै चर्चा पाइरहेको छ । कतिको सम्भावन देख्नुभएको छ ?
राजनीतिक नेतृत्वले सपना देखाउनुपर्छ, जुन अहिले प्रधानमन्त्रीज्यूले देखाउनुभएको छ । तर, यी कुरा बोल्नु अगाडि बिग्रिएका पूर्वाधार राम्रो बनाउनुपर्छ । नागरिकले सरकारले काम गर्दैछ भन्ने अनुभूति त गर्न पाउनुपर्यो नि । एयरपोर्टको समस्या जर्जर छ । ट्राफिक व्यवस्थाले आकाशमा जहाज उडेको÷उड्यै हुन्छ । एयरपोर्टसँग भएको जग्गा भाडामा दिएर पछाडिको जग्गा १६ लाख रुपैयाँ आनामा किन्दैछ । यो कहाँको तरिका हो । पूर्वाधार क्षेत्रका धेरै कुरामा मैले भाग लिने मौका पाएकाले मेरो जानकारी भएसम्म हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आवश्यक छ ।
अहिले चीनको केरुङ–लुम्बिनी, काठमाडौं–पोखरा रेलको कुरा जोडतोडले उठिरहेको छ । रेल भनेको ‘मास ट्रान्जिट सिस्टम’ हो, जहाँ मास छैन, त्यहाँ रेलको सम्भावना नै हुँदैन । काठमाडौं–पोखरा रेलवे कहिल्यै पनि बन्दैन । यहाँबाट पोखराको दूरी २०० किलोमिटर रहेको छ, सिधा डिस्टाइन्स निकाल्दा १५० किलोमिटरमात्रै छ । हरेक १ किलोटिर रेलमार्ग बनाउन ५ अर्ब रुपैयाँ कम्तीमा लाग्छ । अब यसको लागत निकाल्नुस्, अनि यहाँको ट्राफिक हेर्नुस् । कसरी सम्भव छ, काठमाडौं – पोखरा रेल ? हवाईजहाजको भाडा ४ हजार भएको ठाउँमा रेलको भाडा १४ हजार कसले तिर्छ । चीनको नाका जोड्ने रेलवे हामीलाई अत्यावश्यक छ तर, अहिले ल्याउन सक्ने हाम्रो सामर्थ छैन । यसको मुख्य कारण चीन र नेपालको भौगोलिक अवस्था हो ।
अहिले नेपाललाई तुरुन्तै चाहिने वीरगञ्ज–काठमाडौं रेलवे हो । यसले दैनिक २ हजार गाडी प्रतिस्थापन गर्छ । यसबाट बच्ने इन्धन, हाम्रो ऊर्जाको खपत र सडक जामजस्ता विषयबाट मुक्त हुन सकिन्छ ।
सडकमा धेरै गाडी भए भन्ने गुनासो एकातिर छ भने अर्कोतिर भन्सारदर धेरै भयो भन्ने छ । यो समस्याको समाधान कसरी सम्भव छ ?
गाडीको भन्सारदर न्यायपूर्ण छैन । तर, सरकारले के गरोस्, जनताको जीवनस्थर माथि उठेर गाडी किनेका छैनन् । बैंकको ऋण पाएर, जग्गा बेचेर गाडी किन्ने अवस्था रहेकाले गाडीको बिक्री बढेको हो । अहिले जसले जतिवटा गाडी किने पनि एउटै भन्सारदर लाग्दैआएको छ । यसलाई परिवर्तन गर्न सक्ने हो भने सहज हुन्थ्यो । साना गाडीको बिक्रीमा खासै समस्या छैन, ठूला गाडी आयातमा केही कडाई गर्नुपर्छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापन किन सधैं अस्तव्यस्त हुन्छ । सडक नै नभएर हो कि, हामीले मेनेज गर्न नजानेर हो ?
भएभरका सवारीसाधन एउटै ट्याकमा गुड्छ । साइकल, मोटरसाइकल, बयलगाडा, रिक्सा, ट्रक, ट्रिपर, बस, माइक्रोबस, मिनिबस, जीप, कार, भ्यान, ट्याम्पो ट्रयाक्टर । अनि अस्तव्यस्त नभएर के हुन्छ ? यो मेनेज गर्न नजानेर हो । संसारमा नै मोटरसाइकलको ट्रयाक छुट्टै बन्दैछ । हामीकहाँ त्यस्तो छैन । यदि भक्तपुरको बाटोमा मोटरसाइकल ट्रयाक खोलेर हेर्नुपर्नेछ । जापानमा हेरौँ न, दुईलेनभन्दा ठूलो सडक छैन । तर, उनीहरूले सडकको व्यवस्थापन दिएका छन् ।
संसारमा ठूला सहरमा सडकको लागि १२ प्रतिशत खाली जमिन छाडिन्छ, हामीकहाँ २.७ प्रतिशत खुल्ला ठाउँ छ ।
बस्नयोग्य सहरको कुरा पनि धेरै उठिरहेको छ, यसमा तत्काल गर्न सकिने कुरा के हो ?
भारत यो विषयमा निकै लज्जाजनक अवस्थामा पुगेको छ । २०१७ मा सबैभन्दा धेरै प्रदूषित १६ वटा सहरमध्ये भारतको १४ वटा सहर परेको छ । यसमा सवारीसाधनको पोलुसन धेरै छ । त्यो समस्या नेपालमा पनि उस्तै छ । यहाँ धूलो र सवारीसाधनको धूवाँले समस्या निम्त्याउँदैछ । सार्वजनिक यातायातमा साना सवारीसाधन विस्थापित गरेर रिङ्गरोडमा चीन सरकारको सहयोग लिएर ट्रलीबस चलाउनुपर्छ । योभन्दा इलेक्ट्रीक बस राम्रो होला, तर अहिले यो प्रविधि निकै महंगो छ ।
मोनोरेल, अन्डरग्राउन्ड रेलका कुरा भइरहेका छन् । त्यसको लागत र त्यसले निम्त्याउने आर्थिक भार कसैले हिसाब गरेका छैनन् । त्यसैले उपत्यकामा अहिल्यै कुनै किसिमको रेलको सम्भावना छैन । संसारमा ठूला सहरमा सडकको लागि १२ प्रतिशत खाली जमिन छाडिन्छ, हामीकहाँ २.७ प्रतिशत खुल्ला ठाउँ छ । अनि कहाँ चल्छ रेल । सम्भावना रिङ्गरोडमा हो त्यहाँ ट्रलीबस चलाउँदा पुग्छ ।