भारतका पेट्रोल पम्पमा लाग्न थाल्यो भीड, ‘इन्धन पर्याप्त छ, आँतिनु पर्दैन’

काठमाडौं । भारत-पाकिस्तान बीच तनाव चुलिएपछि भारतका पेट्रोल पम्पहरूमा भीड लाग्न थालेको छ । दुई देश बीच द्धन्द्ध चर्किँदै गएपछि पेट्रोल पम्पहरूमा  सवारी साधनमा इन्धन भर्ने सर्वसाधरणहरूको लाइन लागन थालेको हो ।

पेट्रोल पम्पहरूमा नागरिकको भिड लाग्न थाले पनि इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसीएल)ले देशभर पर्याप्त इन्धन भण्डार रहेकाले नआत्तिन आग्रह गरेको हो ।

आइओसीएलले शुक्रबार विज्ञप्ति जारी गर्दै मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेको छ ।

‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको भण्डार छ । हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्याबिना राम्रोसँग चलिरहेका छन्,’ आइओसीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘आत्तिएर खरिद गर्नुपर्ने कुनै जरुरी छैन । हाम्रा सबै आउटलेटहरूमा इन्धन र एलपीजी सजिलै उपलब्ध छन् ।’

आइओसीएलले मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सुझाव समेत दिएको छ ।

मंगलबार राति भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेपछि दुई देश बीच तनाव चर्किएको छ । त्यसको जवाफमा पाकिस्तानले पनि भारतमा ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ । दुई देश बीच पूर्ण रुपमा युद्ध चर्किने हो कि भन्ने आशंका समेत उब्जिएको छ ।

 


Back_to_top