नामी-०६ आउँदैछ, पार्ट्समा गुनासो नआउने गरी मूल्य राख्छौं : प्रशन्न पन्तको अन्तर्वार्ता

काठमाडौं । एमएडब्लू वृद्धिले नेपाली बजारमा ल्याएको नामी ह्याचब्याकको सफलतासँगै सीईओ बनेका प्रशन्न पन्त अटोमोबाइल क्षेत्रमा भएका मध्ये युवा सीईओ हुन् । उनले अहिले चिनियाँ उत्पादन सेरेस र नामीलाई लिड गरिरहेका छन् । प्रस्तुत छ पन्तसँग नामी ह्याचब्याकको सफलताको कारण, सर्भिसमा भविष्यको योजना र नयाँ उत्पादनको बारेमा केन्द्रीत रहेर मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :

नामीको इलेक्ट्रीक ह्याचब्याक लन्च भएको ८ महिना भयो । कस्तो किसिमको प्रतिक्रिया पाइरहनुभएको छ ?

आजको दिनसम्म चलाउने अधिकांश उपभोक्ता सन्तुष्ट हुनुहुन्छ । नामीले दिने रेन्जको कारण सबै उपभोक्ता खुसी भएको हामीले पाएका छौं । अहिलेसम्म गाडीमा यस्तो किसिमको उत्पादनमै डिफेक्ट छ भनेर समस्या आएको छैन । त्यसैले बजारमा नामी थप राम्रो व्यापार गर्ने हाम्रो अपेक्षा छ ।

ह्याचब्याक कारको सेग्मेन्ट निकै कमजोर भएको समयमा नामी आयो । त्यसअघि प्रिमियम ह्याचब्याक सेग्मेन्टमा पनि बलियो प्रोडक्ट थिए । टाटा टियागो ईभी जस्तो बजेट फ्रेन्डली प्रोडक्ट पनि थियो । यस्तो अवस्थामा आएर नामीले राम्रो व्यापार गर्न सक्नुको मुख्य कारण चाहिँ के थियो ?

त्यतिबेला नेपाली बजारमा ईभी भनेको टाटाको टियागो नै थियो । हाम्रो गाडी टियागोभन्दा निकै ठूलो भयो । नामीमा फिचरको कुनै समस्या थिएन ।

६०/७० लाख रुपैयाँमा किन्दा पाउने फिचर नामीमा थियो । त्यसैले उपभोक्ताले आँखा चिम्लेर नामी किन्नु भयो । मूल्य, फिचर र लग्जरीको संयोजन भएको कार ३० लाखभन्दा कम मूल्यमा पाएकाले उपभोक्ता नामीमा आकर्षित भए ।

अब, अगाडिको व्यवसायको बारेमा तपाईंहरू कसरी काम गर्दै हुनुहुन्छ ?

ह्याचब्याक कार किन्नेहरू मिडिल क्लास परिवार हो । उनीहरूको प्रयोग फ्यामली कार हो । त्यसको लागि यो उपयुक्त छनोट हो । लुक, स्टाइल, फिचर, रेन्ज, पावर जस्ता कुरामा नामी निर्विकल्प हो । त्यही कुरा लिएर हामी उपभोक्ता माझ गइरहेका छौं ।

ल, गाडी राम्रो छ । उपभोक्ताले किन्छन् । आजकल सर्भिसको मुद्दा पनि बलियो छ । त्यसमा तपाईंहरू कसरी काम गर्दै हुनुहुन्छ ?

एमएडब्लूको ईभी सर्भिस सेन्टर संचालनमा छ । त्यसैले नयाँ सर्भिस सेन्टर बालकुमारीमा बनाइरहेका छौं । साउन अन्तिमसम्ममा उक्त सर्भिस सेन्टर संचालनमा आउने छ । उक्त सर्भिस सेन्टरमा प्रयाप्त स्पेयर पार्ट्स र दक्ष जनशक्ति हुनेछ । साथै, अहिले नै हामी १०० भन्दा बढी डीसी फास्ट चार्जर लगाउने कम्पनी भइसकेका छौं ।

उपत्यका बाहिर हाम्रा डिलरहरूले थ्री एस सेवा दिनेछन् । त्यसको काम अगाडि बढिरहेको छ । म उपभोक्ताहरूलाई भन्न चाहन्छु, आगामी ६ महिना भित्र हाम्रा सर्भिस सेन्टर चुस्त हुनेछन् । पूर्ण इक्युपमेन्ट र दक्ष जनशक्तिले देश भित्र जुनसुकै एरियामा सेवा प्रदान गर्न सक्षम हुने छन् ।

नामी-०१ ह्याचब्याकपछि अर्को मोडल नामी-०६ चीनमा देखिएको छ । त्यसलाई ल्याउने योजना के छ ?

पक्कै नेपाल आउँछ । हामी आगामी अटो शोमा नेपालमा देखाउने छौं । नेपाल ल्याएर कम्तीमा ५ हजार किलोमिटर टेष्ट गर्छौं । टेस्टबाट केही सुधार गर्नु पर्ने कुरा देखिएको खण्डमा उत्पादकलाई भनेर सुधार्दै आगामी दशैं अगाडि नामी-०६ एसयूभी बिक्री सुरू गर्ने योजना छ ।

एउटै प्रोडक्टले ५/६ प्रतिशत बजार लिन लाग्नुभएको छ । नामी-०६ आएपछि कहाँ पुर्याउने योजना हो ?

ह्याचब्याक बजारमा अहिले १७/१८ मोडल छन् । त्यसमा प्रतिस्पर्धा गरेर २२ प्रतिशत बजार लिएका छौं । एसयूभीको बजार हिस्सा ह्याचब्याक भन्दा ठूलो हुन्छ । समग्रमा दुई मोडलपछि १०/१२ प्रतिशत बजार हिस्सा पुर्याउने योजना हो । त्यसको लागि प्राइस, सर्भिस, डिलर नेटवर्क जस्ता कुरामा हामीले काम गरिरहेका छौं । छिट्टै १५ वटा डिलर पुर्याएर देश भित्र बलियो नेटवर्क बनाउने योजनामा छौं । यी सबै मिलाएर डोङफेङ नामी ब्राण्डलाई पहिलो नम्बरमा उभ्याउने छौं ।

सर्भिस र स्पेयर पार्टस्मा महँगो मूल्य लगाउँछ भनेर एमएडब्लू ग्रुपलाई आरोप लाग्छ । नामीमा के गर्नु हुन्छ ?

भारतीय उत्पादनको तुलनामा चिनियाँ प्रोडक्ट निकै फिचर लोडेड छन् । हेडल्याम्प टु हेडल्याम्प तुलना गर्छन् । ईभीमा क्रिष्टल हेडल्याम्प हुन्छ । नर्मलभन्दा महँगो हुने नै भयो । लुकिङ ग्लासकै कुरा गर्दा पनि ईभीमा सेन्सर, क्यामेरा लगायत त्यही हुन्छ । त्यसैले यी सबैकुरा बुझाउँदै जानुपर्छ । महँगो फिचरको कारण भएको हो । हामी सधैं सर्भिस बिजनेसमा पैसा लगाउनु पर्ने अवस्थामा छौं । नाफा कमाउने कुरा निकै पर छ ।

अर्को कुरा चीनबाट जेन्युन पार्ट्स मात्रै ल्याउन सकिन्छ । ग्रे मार्केटबाट ल्याउने वा आउने सम्भावना छैन । त्यसैले महँगो भयो भन्ने कुरा बजारमा उठेको होला । हामी बजारमा फियर प्राइसमा पार्टस बिक्री गर्ने योजनामा छौं । त्यो सबैको लागि केही थप समय लाग्छ ।

 


Back_to_top