काठमाडौं । दुई कोरियन उत्पादकले नेपालमा उपलब्ध गराएका प्रिमियम इलेक्ट्रीक कार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगत दुई वर्षदेखि आयोनीक-५ नेपालमा बिक्री गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको ईभी-६ भर्खरै मात्र कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नेपाल ल्याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड आफ्नो पोल्टामा पार्न सफल यी दुई मोडलको बनोट फरक छ । तर, दुबै ब्राण्डले समान प्लेटफर्म प्रयोग गरेर यी विद्युतीय कार उत्पादन गरेका हुन् । दुबै क्रसओभर एसयूभी हुन् ।
हुन्डाई मोटर ग्रुपले इलेक्ट्रीक गाडीको लागि बनाएको ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’ (इ-जीएमपी) मा बनेका दुई कारमा हुन्डाई आयोनीक-५ फ्यूचरिष्टीक क्लासिक डिजाइन र किया ईभी ६ स्पोर्टस् डिजाइनमा आधारित छन् ।
एउटै प्ल्याटफर्मको प्रयोग भएता पनि किया र हुन्डाईले फरक-फरक डिजाइन स्टुडियोबाट आफ्नो ईभी विकास गरेका हुन् । कियाले युवा ग्राहकलाई टार्गेट गरेको छ भने, हुन्डाईले म्याचुयर ग्राहकलाई आफ्नो ईभी बेच्ने लक्ष्य राखेर बनाएको हो ।
नेपाल सन्दर्भ
नेपालको सन्दर्भमा आयोनीक-५ धेरैले चलाएर अनुभव लिइसकेको मोडल हो । यसलाई चलाउने जो कोहि सन्तुष्ट भेटिन्छन् । हामीले पनि यसको लङ टर्म रिभ्यू गरिसकेका छौं ।

कियाको ईभी-६ अझै ग्राहकको हातमा परेको छैन । ईभी-६ नेपाली सडकमा गुड्न थालेसँगै यसको प्रतिक्रिया आउला । यहि हप्ताको अन्तिमबाट ईभी-६ ग्राहकलाई हस्तान्त्रण गर्ने तयारी कम्पनीले गरिरहेको जनाएको छ ।
एक्सटेरियर डिजाइन
एउटै प्ल्याटफर्ममा निर्माण भएता पनि कियाको ईभी-६ र हुन्डाई आयोनीक-५ विल्कुलै फरक देखिन्छन् । आयोनीक-५ मा दिइएको एज स्टाइलिङले हुन्डाई कारलाई क्लासिक र बोल्ड देखाएको छ ।
किया ईभी-६ भने सुपरकार फास्ट जीटी भेरियन्टबाट प्रभावित रहेको छ । यसमा दिइएको स्कप्टेड हुड र ड्यूल रियर स्पोइलरले यसलाई स्पोर्टी बनाएको छ ।

यी दुई एसयूभीको प्रमुख फरक भने ह्वीलवेसमा छ । किया ईभी ६ मा २९०० एमएम र आयोनीक-५ मा ३००० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
इन्टेरियरको लेआउट
दुबै कारमा कम्बस्चन इन्जिनको भन्दा विल्कुल फरक इन्टेरियर लेआउटमा सजिएका छन् । आयोनीक-५ मा लाउन्ज जस्तो देखिने क्याविन छ । यसमा इलेक्ट्रोनिकल्ली एडजस्टेवल सिट पाउन सकिन्छ ।
आयोनिकमा ५६.५ क्यूफिट र ईभी-६ मा ४५ क्यूफिट स्पेश छ । तर, यो स्पेश पाउन भने सेकेन्ड रोको सिटलाई भने फोल्ड गर्नु पर्ने हुन्छ । दुबै ईभीको इन्टेरियरमा रिसाइकल प्लास्टीक तथा इकोफ्रन्डली मेटेरियलको प्रयोग भएको छ ।

दुबै ब्राण्डमा १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल क्लष्टर रहेको छ । किया ईभी-६ को क्लष्टर अउडीबाट प्रेरित छ भने हुन्डाई आयोनिक-५ एप्पल डिजाइनबाट प्रभावित छ । यसका कारण दुबै कार स्पोर्टी भर्सेस मोर्डन देखिने छ ।
ब्याट्री र मोटर
हुन्डाईले आयोनीक-५ लाई ५८ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध गराएको छ । रियर ह्वील ड्राइभ मोटर जडान भएको आयोनीक-५ ले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा १२५ किलोवाटको इलेक्ट्रीक मोटर जडान भएको छ ।
कियाले नेपालमा जीटी लाइन भेरियन्ट ल्याएको छ । यसमा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसमा १६८ किलोवाटको रियर ह्वीलमा मोटर दिइएको छ । यसले सिंगल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
यी दुबै कार ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन भएका हुन् । नेपालमा यी दुई बाहेक उपलब्ध अन्य कार ४०० भोल्टमा उत्पादन भएका हुन् । यी दुबै कारले ३५० किलोवाटको हाइभोल्टेज चार्जर सपोर्ट गर्ने क्षमता राख्छन् ।
सेफ्टी फिचर
दुबै कारले सेफ्टीलाई उच्च प्राथमिकतामा राखेका छन् । दुबैमा स्ड्याण्डर्ड फिचरका रुपमा फर्वाड कलिजन र व्लाइन्ड स्पट असिस्ट तथा एड्भान्स ड्राइभर असिस्ट सिस्टम दिइएको छ । हाइवे ड्राइभिङका लागि ग्रेड २ सेमी अटोनोमस सिस्टम छ । जसको सहयोगमा एड्भान्स टाइपको क्रुज कन्ट्रोल प्रयोग गर्न सकिन्छ ।
मूल्य
सुरुवाती दिनमा ८० लाख मूल्य तोकेर आयोनीक-५ नेपाली बजारमा बिक्री सुरु भएको थियो । त्यसपछि सरकारले कर बढाएसँगै १ करोड १७ लाख मूल्य पुगेकोमा चालु बजेटले कर घटाएपछि १ करोड २ लाख ९६ हजार मूल्य कायम भएको छ ।
करको दर एउटै ब्राकेटमा पर्ने ईभी-६ को मूल्य कम्पनीले १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गर्न लागेको हो । यी दुईको बीचमा झण्डै २३ लाख मूल्यमा फरक पाउन सकिन्छ ।


