काठमाडौं । जावा पेराक नेपालमा आजबाट विक्री सुरु हुने भएको छ । जावाको आधिकारीक वितरक अग्नी मोटोइन्कले पेराकको आजबाट विक्री सुरु गर्न लागेको हो ।
चेक रिपब्लीकको आइको निक ब्राण्ड जावा यहि वर्षबाट नेपालमा विक्री सुरु भएको ब्राण्ड हो । अहिले कम्पनीले जावा क्लासिक र जावा ४२ दुई मोडल विक्री गर्दै आएको छ । पेराक नेपाल आएसँगै कम्पनीसँग अव ३ मोडल उपलब्ध रहने छ ।
कम्पनीले पेराकको मूल्य सार्वजनिक गरेको छैन । यद्यपी आज एक विशेष कार्यक्रम गरेर यसको मूल्य घोषणा हुने कम्पनीले जनाएको छ । पेराकको मूल्य ७ लाख ५० हजारभन्दा माथि रहने अनुमान गर्न सकिन्छ ।
बबर स्टाइलमा तयार भएको जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिस मोटर शोमा पेश गरिएको पेराकबाट लिइएको हो । नयाँ पेराकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ ।
उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ भने सुरक्षाको लागि ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।


