मूल्य, ब्रान्ड र स्टाइलको फाइट, कस्तो रहला जीपको बजार

काठमाडौं । नाडा अटो-शो सकिएको २ दिन भयो, यसको ह्याङ्ग अझै केही दिन रहने पक्का छ । यसपटकको नाडा अटो शोमा धेरै चर्चा भएको जीप प्रदर्शनमा राखिएको थियो । आकर्षक सुविधा सम्पन्न स्टलकासाथै विदेशी मोडल र अमेरिकामा निर्मित जीपको चर्चीत र्याङ्गलर पनि राखिएकोले भिजिटरहरू जीपको स्टलमा एकपटक नरोकिइकन अघि बढ्ने स्थिति थिएन ।

जीप कम्पासले पनि सबैलाई आकर्षित गरिरहेको थियो । तर, जीपको स्टलमा भिजिट गरिसकेपछि अवलोकनकर्ताले मिश्रित प्रतिक्रिया दिए । इन्ट्रीलेवल जीप पेट्रोल स्पोर्टस्, जसको फिक्सड प्राइस ६८ लाख ५० हजार रुपैयाँ राखिएको थियो, यसको ड्याबोर्ड एकदमै फिका लागेको कुरा अमित सर्राफले बताउँदै थिए ।

सनरुफ र अटोमेटिक ट्रासमिसन नरहनुले नेपाली एसयूभी पारखीहरूलाई जीप कम्पास फिका लाग्न सक्छ ।

यो पनि पढ्नुस्: तयार भयो अटोमेटिक ट्रान्समिसनमा मारुती सुजुकी भिटारा ब्रेजा

फिचरमा केही कमजोर देखिए तापनि भारतमा निर्माण भएको अमेरिकी ब्राण्ड जीप, नाडा अटो शोमा ३५ वटा बुकिङ्ग भएको कम्पनी स्रोतले बताएको छ । त्यसो हुनुमा जीपको ब्रान्ड भ्यालुले नै हो ।

हामीले जीप कम्पाससँग नेपालमा सार्वधिक सफल एसयूभी हुन्डाईंको क्रेटा र केही समयअघिमात्र नेपालमा लञ्च गरेको रेनो क्याप्चरसँग तुलना गर्ने प्रयास गरेका छौँ ।

इन्जिन स्पेसिफिकेसन

जीप कम्पास, क्याप्चर र क्रेटा तीनैवटै एसयूभी डिजेल र पेट्रोल दुबै भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । जीप कम्पासमा फियाटद्वारा निर्मित पेट्रोल १.४ लिटर र डिजेलमा २.० लिटरको इन्जिन रहेको छ । यसको पेट्रोल र डिजेल दुबै इन्जिनमा टर्बो चार्जर रहेकोले इन्जिन पावरफूल रहेको छ । इन्जिनको क्षमतामा रेनो क्याप्चर र हुन्डाई क्रेटाभन्दा जीप कम्पास निकै पावरफुल रहेको छ । 

रेनो, क्याप्चर पेट्रोलमा १.५ लिटरको एचफोर–के इन्जिन तथा डिजेलमा १.५ लिटरको केनाइनफो डीसीआई इन्जिन रहेको छ ।

त्यस्तै, हुन्डाई क्रेटाकाे १.६ लिटरको डिवल भीटीभीटी पेट्रोल इन्जिन तथा डिजेलमा १.६ लिटरको सीआरडीआई भीजीटी इन्जिन रहेको छ । क्रेटा डिजेलमा १.४ लिटरको डिजल इन्जिन अप्सनमा पनि उपलब्ध रहेको छ ।


साइजको कम्पेरिजन

यी गाडीको साइज हेर्ने हो भने जीप कम्पासको लम्बाई, चौडाई र उचाई सबभन्दा बढी रहेको छ । अर्थात् तीन गाडीहरूमध्ये जीप सबभन्दा ठूलो छ । त्यसपछि साइजमा क्याप्चर र क्रेटा रहेको छ । नेपाली बाटोका लागि सबभन्दा धेरै सोच्नुपर्ने ग्राउण्ड क्लियरेन्स भने क्याप्चरको २१० एमएम रहेको छ भने बुटस्पेसको मामलामा पनि क्याप्चर सबभन्दा अगाडि (४७५ लिटर) रहेको छ ।

सेफ्टी फिचर

सेफ्टी फिचरको आधारमा हेर्ने हो भने तीनैवटा एसयूभी लगभग समान रहेका छन् । यसमा इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक्स, एबीएस र ईबीडी, ड्राइभर र पेसेञ्जर एयरब्याग, ट्राक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनिक रोल मिटिगेसन, रियर डिफोगर, चाइल्डमाउथ र डब्बल क््रयाक प्रोभिएसन सिस्टम तथा हिल स्टार्ट असिस्टजस्ता रहेका छन् ।

मूल्यको फरक

मूल्यको हिसाबले हेर्ने हो भने जीप पेट्रोलको मूल्य ६८ लाख ५० हजारबाट ८९ लाख रुपैयाँसम्म रहेको छ भने डिजलको मूल्य ७४ लाख ९० हजारदेखि ९६ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । त्यस्तै, क्याप्चरको पेट्रोलको मूल्य ४८ लाख १४ हजारदेखि ५५ लाख ३२ हजार रुपैयाँसम्म र डिजेलको मूल्य ५१ लाख ६३ हजारदेखि ६४ लाख ८९ हजार रुपैयाँसम्म रहेको छ । हुन्डाई क्रेटाको मूल्य ४२ लाख ५६ हजारदेखि ५९ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ भने डिजेलको मूल्य १.४ लिटर इन्जिनको ४९ लाख ९६ हजार तथा १.६ लिटर इन्जिनको ५८ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ ।

नेपालका लागि जीपका आधिकारीक वितरक लाइफ अटोमोवाइलकाअनुसार जीपको मूल्यमा छुट नहुने जनाएको छ । अर्थात् जीपले नेपाली अटोमोवाइल मार्केटमा पहिलोपटक फ्रिक्स प्राइस पोलिसी ल्याएको हो । तर, कम्पनीले १ वर्षको रोडट्याक्स र बीमा रकम भने तिरिदिनेछ । रेनोको क्याप्चर खरिद गर्दा भने चाडपर्वलाई लक्षित गरी बजारमा ल्याएको शुभलाभ योजनाअन्तर्गतको विविध छुट र योजनामा सहभागी हुन सकिनेछ ।

त्यस्तै, हुन्डाइले पनि चाडपर्वलाई लक्षित गर्दै फेस्टिभ डिलाइट स्किम ल्याएको छ, जसमा ‘कार किन्दा कार नै उपहार’ पाउने र विभिन्न छुट र उपहारहरू प्राप्त गर्न सकिने जनाइएको छ । 

निष्कर्ष

मूल्यका हिसावले यी तीन एसयूभीमा हुन्डाई क्रेटा पहिलो च्वाइस हुनसक्छ । जुन विन्दुमा जीप कम्पासको मूल्य सुरु हुन्छ त्यो भन्दा १० लाख कम मूल्यमा हुन्डाई क्रेटाकाे टप भेरिएन्ट पाउन सकिन्छ । यसैको कारण क्रेटा नेपाली बजारमा सार्वधिक विक्री भएको एसयूभीमा परेको हो । 

जीपको पावर र एक्स्टेरियर उत्कृष्ट रहेको छ तर, यसको कमजोर इन्टेरियरको बाबजुद उत्कृष्ट ब्रान्ड भ्यालुको कारण एसयूभी निकै महंगो भएको छ । जीपका प्रशंसक वा चाहनेहरुलाई यो गाडी उत्कृष्ट एसयूभी हुनसक्छ । 

यी दुईको बीचमा रहेको रेनो क्याप्चरले युरोपीयन कार पारखीहरुलाई आर्कषित गर्ने छ । साथै उच्च ग्राउन्ड क्लेयरेन्स भएको कारण यसले अफरोड प्रयोगकर्ताको मन जित्न सक्ने छ । साथै यो एसयूभी निकै स्टाइलिस रहेको छ । 


Back_to_top