मोटरसाइकलदेखि ट्रकसम्मलाई नगरपालिकाको छुट्टै कर !

काठमाडौं । यातायात कार्यालयले सवारीसाधन राखे वापत कर लिँदै आएको छ । यसरी लगाइएको कर प्रदेश सरकारले हरेक स्थानिय निकायमा बाँडफाँड गर्दै आएको छ । तर, जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक सूचना निकालेर सवारीधनीलाई कर तिर्न भनेको हो ।

नगर कार्यपालिकाको लेटर प्याडमा ‘सहायक सडक मर्मत तथा सडक उपभोग शुल्क (पटके सवारी कर) शिर्षक दिएर कर असुली सुरु गरेको हो । कार्यपालिकाले मिति २०७९ चैत २६ गते सूचना प्रकाशित गरी राजश्व बुझाउन सवारीधनी र चालकलाई आदेश दिएको हो ।

कार्यपालिकाले तोकेको वार्षिक कर बसको लागि २ हजार, मिनी बसको लागि १ हजार ५०० र माइक्रो बसको लागि १ हजार २०० रुपैयाँ छ । त्यसैगरी, जीप वा कारको लागि १ हजार, ट्याक्टरको लागि १ हजार, टेम्पो र अटो रिक्साको लागि ५०० रुपैयाँ कर तोकिएको छ ।

किसानले खेत जोत्न प्रयोग गर्ने पावर टेलरको लागि २००, मोटरसाइकल र स्कुटरको लागि १५०, रिक्सा र ढेलाको लागि १००, ट्रक ६ चक्कासम्मको २ हजार ५००, ट्रक १० चक्का भएकाको लागि ३ हजार र त्योभन्दा माथिको ट्रकलाई ३ हजार ५०० रुपैयाँ कर तोकिएको छ ।

यो कर तिर्न आउने सवारी चालक वा सवारीधनीले अनिर्वाय रुपमा नविकरण भएको ब्लूबुक, सवारी चालक अनुमति पत्र र सवारीधनीको नागरिकताको फोटोकपी ल्याउनु पर्ने हुन्छ ।


Back_to_top