काठमाडौं । बिक्री सुरू भएको २ महिना नबित्दै जोनसेनका मोटरसाइकलको मूल्य घटेको छ । हिरो मोटरसाइकलको डिलरशिप गुमापछि जोनसेनका मोटरसाइकल भित्र्याएको स्यामकापुले मोटरसाइकल नबिकेपछि दुई मोडलको मूल्य घटाएको हो ।
स्यामकापु (यसअघिकोे नेपाल जनरल मार्केटिङक) कम्पनीले नाडा अटो शो २०२४ मा जोनसेनका मोटरसाइकल सार्वजनिक गरेको थियो ।
कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै जोनसेन वीक ९ र क्यारेराको मूल्य घटाएको हो । कम्पनीले यसअघि ४ लाख ९९ हजार तोकेर सार्वजनिक गरेको विक ९ को मूल्य १९ हजारले घटाएर ४ लाख ८० हजार र क्यारेराको मूल्य ३५ हजार घटाएर ५ लाख २५ हजार ५०० रुपैयाँ निर्धारण गरेको हो ।
स्यामकापुले नाडा अटो शोमा १२ मोडलका मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको थियो भने अहिले २ मोडलको मोटरसाइकलको मूल्य घटाएको हो ।
जोनसने चिनियाँ ब्रान्ड हो । यसअघि नै नेपाली बजारमा जोनसेनका मोटरसाइकल बिक्री सुरू भएर बन्द भएको ब्राण्ड हो । यसअघि रिजोन मोटर्सले जोङसेन ब्रान्डका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको थियो । रिजोन मोटर्सले जोङसेनका मोटरसाइकल बिक्री गर्न नसकेका कारण डिलरशिप छाडेको थियो ।

