काठमाडौं । विद्युतीय गाडी त्यसमा पनि क्रसओभर र ह्याचब्याक मोडलले छपक्कै बनाएको बजारमा चांगानको सहायक कम्पनी दीपल ब्राण्डमा आएको सेडान ‘एल-०७’ निकै उत्कृष्ट कार हो । यसलाई तीन देशका डिजाइनर मिलेर बनाएका हुन् ।
झट्ट हेर्दा विल्कुलै नयाँ लाग्ने र पूरै स्पोर्टी डिजाइनमा तयार भएको एल-०७ चलाएपछि मेरो सेडानप्रतिको धारणा नै बदलिएको हो । मैले दीपलले नेपालमा बिक्री गर्ने एस-०७ र एल-०७ दुवै कार टेष्ट ड्राइभ गरेको छु । दुवै मोडल आधुनिक फिचरले भरिपूर्ण भए पनि ड्राइभिङ डाइनामिक्सको कुरा आउँदा एल-०७ निकै अगाडि छ ।
विद्युतीय गाडीको ड्राइभिङ कम्फर्टको विषयमा चर्चा गरिरहनु नै परेन । त्यसमा अत्याधुनिक सेडानले तपाईंलाई ड्राइभिङ सिटबाट बाहिर निस्कनै मन नलाग्ने बनाउँछ । पावरको हिसाबले पनि उत्कृष्ट लाग्ने एल-०७ को रेन्ज ४५० किलोमिटरसम्म सहजै निकाल्न सकिन्छ ।

चांगानको ग्लोबल डिजाइन स्टुडियोमा इटाली, चीन र जापानका डिजाइनहरूले यसलाई डिजाइन गरेका हुन् । झट्ट कार हेर्दा कुनै कल्पनामा रमेर तयार पारिएको भान हुन्छ । एल-०७ सेडान कारको ड्रयाग कोफिसेन्ट ०.२३ रहेको छ । त्यही कारण इलेक्ट्रीक सेडानको पर्फमेन्स र इफिसेन्सी दुवै उत्कृष्ट छ ।
इन्टेरियरको कुरै बेग्लै
दीपल एल-०७ को इन्टेरियर फाबियो मिनियाटीले तयार परेका हुन् । उनी चांगानको इन्टेरियर डिजाइन म्यानेजर हुन् । मिनियाटीको टोली पूर्ण रूपमा डिजिटाइज्ड ककपिट बनाएका छन् । जसले चालकलाई पृथक अनुभूति प्रदान गर्छ ।

एल-०७ को इन्टेरियर डिजाइन गर्दा तीन मुख्य सिद्धान्तलाई केन्द्रमा राखेको देखिन्छ । जसमा सरलता, आविष्कार र हाईटेक फिचरको कम्बिनेसन पाउन सकिन्छ । क्याबिन दिइएको वेब राडार र हाई पर्फमेन्स क्यामेरा जस्ता एड्भान्स सेन्सिङ्ग कम्पोनेन्टहरू छन् । जसले उच्च कोटीको ड्राइभिङ्ग असिस्टेन्स प्रत्याभूत गर्छ ।
प्रिमियम सिट, उत्कृष्ट ड्यास बोर्ड, स्टुडियोको झल्को दिने म्युजिक सिस्टम र मोर्डन स्टेरिङ ह्वीलको कम्बिनेसन निकै लोभलाग्दो छ । गाडीमा चढ्दा र ओर्लदा अनुभव गर्न सकिने स्वागत र विदाई निकै अस्मिरणिय लाग्छ ।
त्यसैले त डिजाइनको ओस्कार पनि भनिने प्रतिष्ठित ‘रेड डट अवार्ड २०२३’ दीपल एल-०७ ले जितेको थियो । चांगानको डिजाइन फिलोसोफी सिम्बायोटिक एस्थेटिक्सबाट प्रभावित छ । आधुनिक कारहरू प्रकृति, प्रविधि र मानव आवश्यकतालाई सन्तुलनमा राखेर डिजाइन गर्नुपर्छ भन्ने मान्यता सिम्बायोटिक एस्थेटिक्सको हो ।

एल-०७ एउटा कार मात्र होइन, यात्राका लागि इन्टेलिजेन्ट र इमोस्नल पार्टनर पनि मानिन्छ । जसलाई चालक र प्रयोगकर्तासँग शारीरिक र मानसिक रूपमा गहिरो सम्बन्ध स्थापित गर्न सक्नेगरी डिजाइन गरिएको छ ।
मोटर र ब्याट्री
दीपल एल-०७ ‘इपीए-१ प्लेटफर्म’मा बनेको कार हो । यसमा ९९ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरलाई ६६.८ किलोवाट आवरको ब्याट्रीले इन्धन प्रवाह गर्छ ।
एकपटकको फुलचार्जमा ५३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी गरिएको गाडी मैलेले चलाउँदा ४५० किलोमिटरभन्दा बढी रेन्ज पाएको छु । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एल-०७ मा एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टम छ । यसले इनर्जी इफिसेन्सीलाई सबल बनाएको छ ।

अन्त्यमा, दीपल एल-०७ निकै स्पोर्टी सेडान कार हो । धेरैले यसलाई एस-०७ भन्दा महंगो कार हो सोच्छन् । तर, यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ मात्रै तोकिएको छ । सेडानमा ग्राउन्ड क्लियरेन्स कम भएको गुनासो धेरै सुनिन्छ । त्यो स्वभाविक पनि हो । तर, चलाउँदा चालकले ध्यान दिने हो भने यसले नेपालका हाइवेमा यात्रा गर्न समस्या गर्दैन ।

