काठमाडौं । कामाका विद्युतीय पीकअप ट्रक राम्रो संख्यामा बिक्री हुन थालेको छ । सहरी क्षेत्रमा मालामान ओसार पसार गर्न प्रयोग हुँदै आएका छन् ।
कामाका पीकअप ट्रकको आधिकारिक बिक्रेता मेगा बिजनेस ग्रुप हो । कम्पनीले अहिलसम्म ३४४ युनिट पीकअप ट्रक नेपाल ल्याइसकेको छ । उसले जनवरी २०२६ मा ३४ युनिट ल्याएको देखिन्छ ।
कामा ब्राण्डको ईडब्लू-१ नामक इलेक्ट्री पीकअप ट्रक दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सीएटीएलको ब्याट्री प्रयोग भएको पीकअप आफ्नो आवश्यकता अनुसार कन्टेनरको रूपमा पनि खरिद गर्न पाइन्छ ।
मेगा मोटर्सले ३८ किलोवाट आवर र ४२ किलोवाट आवरको दुई ब्याट्रीमा ल्याएको पीकअप ट्रकको मूल्यमा भने ४९ हजार रुपैयाँ मात्रै अन्तर छ । सानो ब्याट्री भएको पीकअप किन्दा २५ लाख ७० हजार रुपैयाँ तिर्नु पर्छ । ठूलो ब्याट्री भएको भेरियन्टको मूल्य २६ लाख १९ हजार तोकिएको छ ।
सिंगल चार्जमा ३०० किलोमिटरसम्म गुडाउन सकिने यी विद्युतीय साना ट्रकले २ हजार केजीसम्म सामान बोकेर हिँड्न सक्नेछन् । गाडीलाई पावर दिन यसमा ७० किलोवाटको इलेक्ट्रीक मोटर जडान भएको छ ।
कम्पनीले यी पीकअप ट्रकमा ५ वर्ष वा २ लाख किलोमिटर जुन पहिला आउँछ, त्यो बराबरको ब्याट्रीमा वारेन्टी दिएको छ । मोटरको वारेन्टी भने ३ वर्ष वा १ लाख किलोमिटर जुन पहिला आउँछ, त्यो बराबर दिएको छ ।

