बेनी-जोमसोम-कोरला सडक : म्याग्दी खण्डमा २५ करोड लागतमा पहिरो रोकथाम सुरू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो रोकथामको काम सुरू गरिएको छ ।

बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले २५ करोड रुपैयाँको लागतमा म्याग्दी खण्डमा पहिरो रोकथाम तथा नदी कटान नियन्त्रणको काम अघि बढाएको हो ।

पहिरो नियन्त्रणका लागि चार प्याकेजमा ठेक्का लगाएर काम भइरहेको कालिगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनाका सूचना अधिकारी ई. बाबुसाहेब कुमार बैठाले जानकारी दिए । उनले चारै खण्डको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी ठेक्का लगाइएको बताए ।

‘बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत म्याग्दी खण्डमा पहिरोको धेरै जोखिम छ । त्यसलाई रोकथाम गर्न तीन प्याकेजमा ठेक्का लगाएकार अहिले धमाधम काम भइरहेको छ । चालु वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार विभिन्न ठाउँमा रक एंकरिङ, पलम पर्खाल, बायो इञ्जिनियरिङ, थिडिमेस, ग्याबिन प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका-२ तल्लो र माथिल्लो बैसरी, लाटोखोला, रुप्से, सेतोखोला, नागढुंगा, गुइठेभिर, खामभित्ता  र लार्जुङ खण्डमा पहिरो रोकथाम गर्न लागिएको हो । सबै ठाउँमा गरी करिब १२०० मिटर सडक क्षेत्रमा पहिरो रोकथाम गर्न लागिएको हो ।

अन्नपूर्ण गाउँपालिका-३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि ७ करोड रुपैयाँमा बाम्ती-कोण्डा-टिस्ता जेभीले ठेक्का पाएको छ ।

त्यस्तै, अन्नपूर्ण-३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामको ठेक्का जीएसपीएल-वुद्धीसरा जेभीले ९ करोड रुपैयाँमा पाएको छ ।

त्यसैगरी, तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जीएसआई-हुटैराज जेभीले २ करोड रुपैयाँको ठेक्का पाएको छ । सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो ।

लाटोखोला, रुप्से, नागढुङ्गा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले ७ करोड रुपैयाँमा ठेक्का पाएको छ । रुप्से खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ । लाटोखोलामा ‘रक एंकरिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।


Back_to_top