चेरीको नयाँ ईभीमा झुम्मिए ग्राहक, तीन घण्टामा २७ हजार बढी बुकिङ

काठमाडौं । चेरी अटोमोबाइलले आफ्नो पुरानो ‘क्यूक्यू’ मोडललाई ईभीमा सार्वजनिक गरेसँगै चीनमा ग्राहकको माझमा ठूलो हल्लाखल्ला सृजना भएको छ ।

कम्पनीले यसअघि २०२५ संघाई अटो शोमा नै कन्सेप्ट कारको रूपमा सार्वजनिक गरेको ‘क्यूक्यू थ्री’को प्रि-बुकिङ खुल्ला गरेको छ । प्रि-बुकिङ खुल्ला भएसँगै ३ घण्टाको अवधिमा नै २७ हजार ३१९ जनाले यसलाई अर्डर गरेको कम्पनीले जनाएको छ ।

आगामी मार्च अन्तिमबाट उपभोक्तालाई हस्तान्तरण सुरू गर्ने जनाइएको छ । चिनियाँ निर्माताले क्यूक्यू मोडल पहिलो पटक सन् २००३ मा उत्पादन थालेको थियो । नेपाली बजारमा पनि सन् २०१०/११ सम्म क्यूक्यू ह्याचब्याक उपलब्ध थियो । चेरी क्यूक्यू विश्वभर १४ लाख युनिट बिक्री भएको मोडल थियो । सन् २०१४ बाट चेरीले क्यूक्यू ब्राण्ड बन्द गरेको थियो ।

सन् २०२६ मा बजारमा बिक्री थाल्ने तयारी भइरहेको क्यूक्यू थ्री निकै मोर्डन डिजाइनमा देखिन्छ । कम्पनीले यसमा गोलो आकारको हेडलाइट र टेल लाइट प्रयोग गरेको छ । क्लोजअफ ग्रिल, सेमी हिडन डोर ह्याण्डल र दुई कलरमा सजिएको साइड मिरर पाउन सकिन्छ ।


चेरीले आफ्नो विल्कुलै नयाँ ह्याचब्याक कारको सी पिलरमा क्यू अक्षरको लोगो प्रयोग गरेको छ । ढोकाको तल्लो भागमा भने चेरीलाई ब्राण्डिङ गरिएको छ ।

बीवाइडी डल्फिनकै साइजमा उपलब्ध क्यूक्यू थ्रीको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र उचाइ १५७३ एमएम छ । यसमा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कारको क्याबिनको विभिन्न ३५ स्थानमा स्टोरेज दिइएको छ । फ्रन्ट ट्रंक ७० लिटर र ३७५ लिटरको बुट स्पेश उपलब्ध कार सामान राख्न कुनै स्थानको कमी भोग्नु नपर्ने मोडल हो ।


यसमा प्रयोग भएको ब्याट्री साइजका विषयमा कम्पनीले केही खुलाएको छैन । तर, रेन्ज २८० किलोमिटरदेखि ४०१ किलोमिटरसम्म रहने दाबी गरेको छ । यसको मतलब ३० र ४० किलोवाट आवरको ब्याट्री रहने अनुमान भने गर्न सकिन्छ ।

मोटर भने दुई अप्सनमा पाउन सकिन्छ । एउटा मोटर ५८ किलोवाट र अर्को ९० किलोवाटको प्रयोग भएको छ । नेपालको लागि दुवै मोटर एउटै करको दायरमा आउने छ ।

क्यूक्यू थ्रीको क्याबिन पनि फिचर लोडेड बनाइएको छ । क्वालकम स्न्यापड्रागन ८१५५ चीप र दुई कलरमा सजिएको स्टेरिङ ह्वील पाउन सकिन्छ । आरमदायी सिट, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, २५६ कलर मध्ये छानेर प्रयोग गर्न सकिने एम्बियन्ट लाइट यसमा प्रयोग भएको छ ।

चेरीका प्यासेन्जर कार नेपाली बजारमा एसपीजी अटोमोबाइलले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले क्यूक्यू मोडल पनि नेपाल ल्याउन सक्ने मोडलमा पर्छ । नेपालमा बिक्री थाल्न भने केही महिना कुर्नुपर्ने देखिन्छ ।


Back_to_top