काठमाडौं । टीभीएसको सुपरस्पोर्ट अपाचे आरआर ४५० सीसी मोटरसाइकलको भारतमा परीक्षण सुरू भएको छ ।
कम्पनीले भारतमा उत्पादन गरेको टीभीएस अपाचे आरआर ४५० सुपरस्पोर्ट मोटरसाइकलको पहिलो पटक भारतीय सडकमा परीक्षण सुरू गरिएको हो ।
टीभीएसको यो नयाँ मोडल बीएमडब्लूसँगको सहकार्यमा निर्माण भएको मोटरसाइकल हो । यो बीएमडब्लूको एफ ४५० जीएसकै प्लेटफर्ममा आधारित छ ।
परीक्षणको क्रममा रहेको नयाँ मोटरसाइकल स्पोर्टी लुक्समा देखिए पनि पूर्ण रूपमाा आक्रामक नभई दैनिक प्रयोगका लागि समेत सहज हुने किसिमले डिजाइन गरिएको देखिन्छ ।
सडकमा देखिएको आरआर ४५० मोटरसाइकल टीभीएसले इक्मा अटोशो २०२५ मा देखाएको टेन्गेन्ट आरआर कन्सेप्टबाट प्रेरित हुने अनुमान गरिएको छ ।
मोटरसाइकलमा आक्रामक फुल फेयरिङ, मस्कुलर बडीवर्क, एरोडाइनामि वीङलेट र स्लिक टेल सेक्सट छ । यसमा दिइएको विङलेट बीएमडब्लू एस १००० आरआरको जस्तै छ । यसमा इन्डिकेटरमै जडित टेललाइट डिजाइन एफ ४५० जीएससँग मिल्दोजुल्दो र राइडीङ पोस्चर अपाचे आरआर ३१० जस्तै आरामदायी छ ।
आरआर ४५० मा इन्जिन पनि एफ ४५० जीएसमै प्रयोग भएको ४२० सीसी प्यारालल ट्वीन हुनेछ । यसले ४७.६ पीएस पावर र ४३ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच र क्विकसिफ्टरका साथ ६ स्पीडको गियरबक्स छ ।
साथै, ओलिन्स इन्भर्टेड फोर्क, एड्जस्टेवल मोनोसक, ब्रेम्बो ब्रेकिङ सिस्टम, राइडिङ मोड्स, ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, टीएफटी डिजिटल कन्सोल, पूरा एलईडी लाइट जस्ता अत्याधुनिक फिचरहरू पाइने छ ।

