काठमाडौं । टाटा मोटर्सले आफ्नो चर्चित एसयूभी पन्च ईभीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।
कम्पनीले औपचारिक रुपमा लन्च गर्नु अघि यसको बाहिरी डिजाइन बारे जानकारी दिएको हो । कम्पनीले नयाँ पन्च ईभी फेब्रुअरी २० देखि बिक्री सुरू गर्दैछ ।
नयाँ पन्च ईभी फेसलिफ्टको अगाडिको भागमा परिमार्जित डिजाइन देख्न सकिन्छ। यसमा ग्रिललाई बन्द शैलीमा तयार गरिएको छ । अघिल्लो संस्करणमा रहेको हेडलाइट जोड्ने कालो ट्रिम र एलईडी डीआरएललाई जोड्ने लाइट बार हटाइएको छ। अगाडिको बम्परको तल्लो भागमा रहेको स्कफ प्लेटमा पनि हल्का परिवर्तन गरिएको छ ।
टाटाले नयाँ पन्च ईभीमा नयाँ डिजाइनको एयरो-अप्टिमाइज्ड अलोय ह्वील दिएको छ । जुन नेक्सन ईभीबाट प्रेरित छ । साथै, ब्ल्याक रुफसहितको नयाँ पहेँलो रङ पनि थपिने भएको छ । जुन ह्यारीयर एसयूभीको ‘सनलिट येलो’ रङसँग मिल्दोजुल्दो देखिन्छ।
कम्पनीले फेसलिफ्ट पन्च ईभीको पछाडिको डिजाइन बारे औपचारिक जानकारी दिएको छैन । तर, पेट्रोल÷डिजेल भेरियन्टको जस्तै जोडिएको एलईडी टेल ल्याम्प सेटअप हुने अनुमान छ ।

यसको इन्टेरियरमा भने थोरै परिवर्तन हुने अनुमान गरिएको छ। यसमा नेक्सन ईभीमा प्रयोग गरिएको १२.३ इन्चको नयाँ इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुने सम्भावना छ ।
नयाँ पन्च ईभीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड सिट (अगाडि), वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा, अटो–डिमिङ आईआरभीएम, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ जस्ता फिचरहरू यथावत् रहने छन्। यसमा सुरक्षाका लागि लेभल–२ एडास सिस्टम समावेश हुन सक्ने अनुमान गरिएको छ।
फेसलिफ्ट पन्च ईभीको पावरट्रेनमा भने कुनै परिवर्तन नहुने बताइएको छ । पन्च ईभी फेसलिफ्टमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने छन् । यी ब्याट्रीले क्रमशः २६५ किलोमिटर र ३६५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
नयाँ पन्च ईभीको मूल्य हालको मोडेलभन्दा केही महँगो हुनसक्ने अनुमान गरिएको छ । हालको पन्च ईभीको मूल्य ९.९९ लाखदेखि १४.४४ लाख भारु (एक्स-शोरूम) रहेको छ ।

