काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आगामी मंसिर २२ र २३ गते हुने ४५ औं साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अटोमोवाइल व्यवसायीले प्यानल निर्माण गरेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
नाडाको वर्तमान उपाध्यक्ष करण चौधरीले आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् भने, उनले आफ्नो टीमबाट चुनाव लड्ने १७ सदस्यको पनि घोषणा गरेका छन् ।
अध्यक्षका उमेद्वार चौधरीको टीमबाट सदस्यहरुमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्र उप्रेती, बिक्रम सिंघानिया, बरदान बस्नेत, अभिक ज्योति, मिलनबाबु मल्ल, अनुप बराल, निलमणि पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी, गोपाल भट्टराई, देवराज भण्डारी, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, निशान्त ढकाल र कर्ण न्यौपाने रहेका छन् ।
टीम घोषणा कार्यक्रममा आफ्नो उमेद्वारीको बारेमा बोल्दै चौधरीले भने, ‘सन्तुलित टीम निर्माण गरेर चुनावी प्रक्रियामा होमिएका छौं । हाम्रो टीमले अटोमोवाइल क्षेत्रको सबै पक्षलाई समेटेको छ ।’
उनले युवा र परिपक्व मिश्रित टीमले नाडाले गर्दै आएको कामलाई व्यवस्थित गर्दै समग्र व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका सीइओ तथा सदस्यका उमेद्वार राजन बाबु श्रेष्ठले नाडाको सबै ततहलाई बलियो बनाउने पर्ने धारण राख्दै त्यसको लागि सकभर सहमतिमै नेतृत्व छनोट होस् भन्ने आफुहरुको चाहना रहेको बताए ।
‘सहमति भएन भने प्रजातान्त्रिक तरिकाले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नु पर्ने भएकाले टीम घोषणा गरिएको हो’, श्रेष्ठले भने ।
कार्यक्रममा नाडाका माहासचिव तथा सदस्य पदका उमेद्वार सुनिल रिजालले मत बदर नहोस् भनेर सदस्यहरुलाई बुझाउन आवस्यक रहेको बताएका थिए ।

