काठमाडौं । किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालिले ईभी फाइभ नेपाल ल्याएको छ । कम्पनीले नोभेम्बर महिनामा २ युनिट ईभी फाइभ नेपाल ल्याएको हो ।
यसअघि नाइमा मोबिलिटी एक्स्पोमा नै नेपाल आउने बताइएको ईभी फाइभ ढिलोगरी नेपाल प्रवेश गरेको छ । चीनमा कियाले उत्पादन गरेको ईभी फाइभ एसयूभी नेपाल आएको हो ।
कन्टिनेन्टल ट्रेडिङका अनुसार नयाँ ईभी फाइभ सन् २०२६ बाट मात्रै बिक्री सुरू हुनेछ । अहिले दुई युनिट मात्रै गाडी आएको बताउँदै कम्पनी स्रोतले भन्यो, ‘मूल्य लगायतका धेरै कुरा निर्णय हुन बाँकी छ । सबै टुङ्गो लागेपछि सन् २०२६ को पहिलो क्वाटरबाट बिक्री गर्न सकिन्छ होला ।’
किया मोटर्सले चीनमा २० हजार डलर सुरूवाती मूल्य राखेर बिक्री गरेको ईभी फाइभ नेपाल भने निकै महँगो मूल्यमा आएको छ । भन्सार विभागको तथ्यांकमा देखिए अनुसार ईभी ४१ हजार ९३३ अमेरिकी डलर मूल्यमा नेपाल आएको छ । त्यो भनेको अहिले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीको भन्दा दोब्बर बढी मूल्य हो । जुन मूल्यले जो कोही चकित बन्छ ।

नेपाल आएको ईभी फाइभमा १६० किलोवाटको मोटर छ । त्यसमा कर पनि बढी लाग्ने हुँदा यसको मूल्य १ करोड रुपैयाँ माथि पर्ने देखिन्छ । सायद, महँगो मूल्यकै कारण कम्पनीले यसको बिक्री गर्ने योजना सार्वजनिक नगरेको हुनसक्छ ।
हुन्डाई मोटर ग्रुपको ई-जीएमपी प्लेटफर्ममा बनेको ईभी-फाइभ कम्पनीकै सबैभन्दा ठूलो मोडल ईभी-नाइनबाट प्रेरित छ । अगाडि क्लोजअफ ग्रिल, हिडन डोर ह्याण्डल, स्टार म्याप सिग्नेचर लाइट, १९ इन्चको ह्वीलले यसलाई निकै आकर्षक बनाएको छ ।
जे आकारमा सजिएको एलईडी टेललाइट, ग्लस ब्ल्याक करलको बडी क्लाडिङ दिइएको छ । एसयूभीको साइज लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १७१५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस दिइएको छ ।
कियाले यसमा दुई स्क्रीनलाई जोडेर दिएको छ । यी दुवै स्क्रीन १२.३ इन्च साइजमा उपलब्ध छ । साथै, ५ इन्चको छुट्टै डिजिटल क्लाइमेट कन्ट्रोल सिस्टम दिइएको छ । जहाँ फिजिकल बटम पनि उपलब्ध छ ।

