काठमाडौं । कियाको पछिल्लो इलेक्ट्रीक क्रसओभर एसयूभी इभी सिक्सले यूरोपियन एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । कम्पनीले क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएसँगै यसको विश्वसनियता थप बलियो भएको छ ।
यूरोपियन एनक्यापले सार्वजनिक गरेको नतिजा अनुसार इभी सिक्सले बयस्क यात्रुको सुरक्षामा ९० प्रतिशत अंक पाएको थियो । विशेषत अगाडि बस्ने पेसेन्जरको टाउको, घाँडी, छाती, घँुडा जस्ता भागको सुरक्षामा यसले उत्कृष्ट अंक पाएको छ । साथै, चालक सुरक्षामा टाउको देखि पैतालासम्मको सुरक्षा उत्कृष्ट रहेको छ ।
पछाडि बस्ने यात्रुको लागि पनि राम्रो देखिएको इभी सिक्सले चाइल्ड सेफ्टीमा ८६ प्रतिशत अंक पाएको थियो । यसमा ६ वर्षदेखि १० वर्षको बच्चाको सुरक्षाको लागि विशेष ध्यान दिइएको छ । यो कार पैदल यात्रुको सुरक्षामा पनि ६४ प्रतिशत ठिक रहेको देखिएको छ ।
कम्पनीले थुप्रै सेफ्टी फिचर प्रदान गरेको किया इभी सिक्स नेपाल ल्याउने विषय २ महिना अघि नै भएपनि अहिलेसम्म आउन सकेको छैन । कम्पनी स्रोतका अनुसार चाँडै इभी सिक्सको टप भेरियन्ट जिटी लाइन नेपाल आउने छ ।

