काठमाडौं । कियाले भारतीय बजारमा नयाँ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । कम्पनीले सेल्टोसलाई पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्वाेचार्ज्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बाेचार्ज्ड अप्सनमा सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो पहिलो भारत मेड एसयूभीलाई १२ भेरियन्टमा बजारमा उतारेको छ ।
१.५ लिटर टेक लाइन पेट्रोल इन्जिन अन्तर्गत पाँच भेरियन्ट आएको सेल्टोसको लो भेरियन्टको मूल्य ९ लाख ७९ हजार रहेको छ भने हाइभेरियन्टको मूल्य १३ लाख १९ हजार भारु तोकिएको छ ।
यस्तै, तीन भेरियन्टमा उपलब्ध १.५ लिटर टर्बाेचार्ज्र्ड डिजेल इन्जिनको लो भेरियन्टको मूल्य ९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य १५ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।
साथै, कम्पनीले चार भेरियन्टमा टर्वाेचार्ज्ड पेट्रोल इन्जिनयुक्त सेल्टोस सार्वजनिक गरेको छ । जसको सुरुवाति भेरियन्टको मूल्य १३ लाख ४९ हजार र टप भेरियन्टको मूल्य १५ लाख ९९ हजार भारु रहेको छ ।
किया एसपी–२ आई कन्सेप्टमा निर्माण भएको सेल्टोस किया सोलभन्दा केही ठूलो र स्पोर्टेज भन्दा केही सानो रहेको छ ।
टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, एलइडी फग ल्याम्प, पुल टाइप डोर ह्यान्डल लगायतका विशेषता रहेको किया सेल्टोसमा ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, इन कार वाइफाइ जस्ता सेगमेन्ट फस्ट विशेषता दिइएको छ ।
डबल फ्रन्ट एयरब्यागको साथै एबीएस, इबीडी, रियर एसी भेन्ट जस्ता विशेषता दिइएको छ । किया सेल्टोस नर्मल, इको र स्पोर्टगरि तीन ड्राइभिङ मोडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसमा उपलब्ध १.५ लिटर पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क उत्पादन गर्छ । यस्तै,१.५ लिटर टर्वाेचार्ज्ड डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ ।
१.४ लिटर टर्वोचार्ज्ड पेट्रोल इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
१७ इन्च अलोय ह्वील, स्टाइलिस एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको यस एसयूभीको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६२० एमएम रहेको छ । २६१० एमएम ह्वीलवेश रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको कम्पनीले जनाएको छ ।

