काठमाडौं । काठमाडौं महानगरपालिका पछि अब ललितपुर महानगरपालिकाले पनि धुलो सफा गर्न ब्रुमर ल्याउने भएको छ । ललितपुर महानगरले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ ।
महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो । ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरले स्वीटजरल्याण्डमा बनेको बु्रमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
ललितपुर महानगरपालिकाको सहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ’ उनले भने । महानगरपालिकाले खरिद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए ।
ललितपुर महानगरपालिकासँग एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा रहेको छैन । यसअघि काठमाडौं महानगरपालिकाले इटलीबाट ५ वटा ब्रूमर ल्याएर सञ्चालन गरि रहेको छ ।

