ललितपुर-चन्द्रागिरी सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

काठमाडौं । ललितपुरदेखि चन्द्रागिरिसम्म सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना हुने भएको छ ।

नेपाल मोटर स्पोट्स एन्ड रोड सेफ्टी फेडरेसनले विश्व वातावरण दिवसको अवसरमा उक्त र्‍याली आयोजना गर्ने घोषणा गरेको हो ।

ललितपुरको जावलाखेल मैदानबाट सुरू हुने र्‍याली ललितपुरका कृष्ण मन्दिर लगायतका विभिन्न पुरातात्विक सम्पदा स्थलहरू र काठमाडौंका स्वयम्भू स्तुपा र ऐतिहासिक कीर्तिपुर शहरको पुरातत्विक सम्पदामा घुम्दै मातातिर्थमा पुगेर समापन हुनेछ ।

यस कार्यक्रममा टीएसडी (टाइम स्पीड डिस्ट्यान्स) र्‍याली र अटोक्रस प्रतियोगिता गरिने छ । टीएसडी र्‍यालीमा ड्राइभरहरूले तोकिएको गति, चालमा गाडी चलाउनुपर्नेछ । समय, गति र दूरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, मातातीर्थमा हुने अटोक्रस प्रतियोगितामा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्शनी गर्ने छन् ।

अटोक्रसमा भाग लिने गाडीहरू १ हजार देखि १ हजार ६०० सीसी सम्मका हुनेछन् । सबै प्रकारका कारहरूसहभागी हुन सक्ने सो र्‍यालीमा अधिकतम २५ गाडीहरू सहभागी रहने आयोजककोले जनाएको छ । गाडीमा अनिवार्य रुपमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग तथा आबद्धता सहित हुन गइरहेको उक्त र्‍यालीमा ललितपुर, काठमाडौं सहित कीर्तिपुर तथा चन्द्रागिरि लगायतका सम्पदाहरुलाई मोटर स्पोट्सका माध्यमबाट बिश्वस्तरमा पुराउने विश्वास आयोजकले लिएको बताइएको छ ।


Back_to_top