सम्पर्क विच्छेद बन्दै काठमाडौं, रातभरको वर्षाले यी राजमार्ग बन्द

सांकेतिक तस्बिर

काठमाडौं । बुधबार दिउँसो देखि निरन्तर भएको वर्षाको कारण देशभरका सडकखण्डहरु अबरुद्ध धएका छन् । करिब २० घन्टादेखि निरन्तर परेको पानीले मुग्लिन नारायणगढ सडक खण्डदेखि विपी राजमार्गसम्म अबरुद्ध भएकाछन् । 

यसरी पहिरोले अबरुद्ध भएका राजमार्गहरु यसप्रकार रहेका छन् । 

पहिराले मध्यपहाडी राजमार्ग 

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ । 

सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको छ । 

पोखरा–बागलुङ सडकखण्ड 

अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । 

सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । 

गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् । 

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । वर्षा शुरु भएसंँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ । 

अरनिको र बिपी राजमार्ग 

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । 

बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले जानकारी दिए ।

मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । 

काठमाडौँबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ । दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । 

भक्तपुर र थिमि डुबानमा

गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । 

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए । 


Back_to_top