काठमाडौं । लेन–अनुशासन कारबाहीमा पर्ने सवारी चालकको सङ्ख्या वर्षेनि घट्दो क्रममा छ । चालु आर्थिक वर्षमा लेन–अनुशासन कारबाहीमा पर्नेको सङ्ख्या ४३.५१ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा १३ हजार ७ सय ३१ जना लेन–अनुशासन कारबाहीमा परेका छन् । तीमध्ये १३ हजार ७ सय ३ जना राजस्व कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी कार्यालय प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए ।
लेन–अनुशासन कारबाहीमा पर्नेमा धेरैजसो पुरुषहरूको सङ्ख्या बढिरहेको उनले बताए ।
चालु आर्थिक वर्षको ६ महिनामा १३ हजार १ सय १२ पुरुष तथा ६ सय १९ महिला कारबाहीमा परेको उनले जानकारी दिए ।
‘मानिसहरूमा प्रत्येक दिन चेतना बढ्दैछ, अर्कोतर्फ हामीले कारबाहीमा केही हदसम्म कडाई पनि गरेका छौँ, त्यसकै प्रतिफल हो यो,’ पन्तले भने ।
गतवर्ष ४८ हजार ६ सय १७ लेन अनुशासन कारबाहीमा परेका थिए । त्यसमध्य ४८ हजार ५ सय १३ राजस्व कारबाहीमा परेका थिए ।
यस्तै, आर्थिक वर्ष २०७३–०७४ सालमा १ लाख ३१ हजार ५ सय ३३ लेन अनुशासन कारबाहीमा परेका थिए । तीमध्ये १ लाख २९ हजार ४ सय ९५ ले राजस्व बुझाएको विभागको तथ्याङ्कले देखाएको छ ।
चालु अािर्थक वर्ष २०७३–०७४ सालको तुलनामा गतवर्ष ६३ प्रतिशतले लेन–कारबाहीमा पर्नेहरूको सङ्ख्या घटेको हो ।
यस्तै, २०७२–०७३ र २०७१–०७२ सालको तथ्याङ्क हेर्ने हो भने लेन–अनुशासन कारबाहीमा पर्नेको सङ्ख्या बढेको देखिन्छ ।
२०७१–०७२ सालमा ३७ हजार ५ सय ८ लेन–अनुशासन कारबाहीमा परेका थिए । २०७२–०७३ सालमा ४८ हजार ७१ लेन–अनुशासन कारबाहीमा परेको महाशाखाको तथ्याङ्कले देखाउँछ ।
यसरी हेर्ने हो भने २०७१–०७२ सालदेखि २०७३–०७४ सालसम्म लेन–अनुशासन कारबाहीमा पर्नेको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ भने २०७४–०७५ सालदेखि लेन–अनुशासन लगातार घट्ने क्रममा रहेको देखिएको छ ।

