दोस्रो पटक नेपाल आयो ‘टी-०३’को टेष्टिङ भेहिकल

काठमाडौं । लीप मोटर्सको ह्याचव्याक कार टी-०३ को टेष्टिङ भेहिकल दोस्रो पटक नेपाल आएको छ । यसअघि पहिलो पटक वाणिज्य विकास कम्पनीले ल्याएको टी-०३ मोडल अब भने आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले ल्याएको हो ।

यूरोपियन कम्पनी स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटर्सको टी-०३ को यूरोपियन स्पेक नै नेपाल आउन लागेको कम्पनीले जनाएको छ । अहिले आएको गाडी परीक्षणको लागि रहेको कम्पनीको भनाइ छ ।

‘अहिले परीक्षणको लागि टी-०३ नेपाल ल्याएका हौं । ह्याचव्याक कार, त्यसमा पनि सानो साइजको गाडी छ । यसको परीक्षणपछि मात्रै कहिलेबाट बिक्री सुरु हुन्छ भन्न सकिन्छ । अहिल्यै एकिन साथ भन्न सकिदैन’, साँग्रिला मोटर्सका कार्यकारी निर्देशक जय गोल्छाले भने ।

भन्सार प्रयोजनको लागि प्रकाशित अधिकतम खुद्रा मूल्यसूची अनुसार टी-०३ को मूल्य ३४ लाख रुपैयाँ तोकिएको छ । तर, यसको आधिकारीक बिक्री मूल्य कति हुन्छ भन्ने कम्पनीले जनाएको छैन ।

यसअघि आएको टी-०३ भन्दा अहिले कर बढेको कारण खुद्रा मूल्य बढेको हो । यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यो सेग्मेन्टमा रहेका चल्तीका एसयूभी र टी-०३ मा कर बराबर लाग्छ ।

सिंगल चार्जमा ३०० किलोमिटर हाराहारी रेन्ज दिने ह्याचव्याकमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर रहने छन् ।

लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ जस्ता फिचर दिएको छ ।


Back_to_top