काठमाडौं । करिब एक दर्जन नयाँ मोडल सार्वजनिक हुने अनुमान गरिएको नाइमा नेपाल मोविलीटी एक्स्पो २०२५ को मुख्य आकर्षण लीपमोटरको बी-१० बन्न सक्ने देखिएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने बी-१० अन्तर्राष्ट्रिय बजारमै चर्चा पाइरहेको मोडल हो ।
लीपमोटरका एसयूभी पावरमा कुनै सम्झौंता भएका हुँदैनन् । साथै, कम्पनीले पावर, साइज र पर्फमेन्स राम्रोसँगै मूल्य पनि उत्कृष्ट अफर गर्ने अनुमान गरिएको छ । त्यसैको आधारमा यसले मोविलिटी एक्स्पोमा धेरैको ध्यान खिच्ने अनुमान गर्न सकिन्छ ।
आगामी साउन २१ गतेबाट आयोजना हुन लागेको मोविलिटी एक्स्पोमा लीपमोटरको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले बी-१० एसयूभी सार्वजनिक गर्नेछ । यसअघि लीपमोटरले नेपालमा बिक्री गर्दै आएको सी-१० एसयूभीको तुलनामा केही सानो बी-१० एसयूभी फिचर र प्रविधिको मामलामा सी-१० भन्दा कम हुनेछैन ।
कम्पनीले यसको मूल्य कति राखेर बिक्री गर्छ अहिल्यै भन्न सकिँदैन । तर, यसको मूल्य अन्य प्रतिस्पर्धीको लागि टाउको दुखाई हुने निश्चित जस्तै छ ।

पावर उच्च
लीपमोटरको बी-१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । अहिले पनि बी-१० भन्दा ठूला एसयूभी नै ९९ वा १०० किलोवाटको मोटरमा उपलब्ध बजारमा यसको पावर उत्कृष्ट लाग्छ । यसको पीकटर्क २४० न्यूटन मिटर रहने छ ।
दुई ब्याट्री अप्सन
लीपमोटरले बी-१० एसयूभीमा ६७.१ किलोवाट आवर र ५६.२ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सम्भवत दुबै ब्याट्री अप्सनमा बी-१० एसयूभी नेपाल आउने छ । सीएलटीसीले ६०० किलोमिटरसम्म रेन्ज भने पनि सानो ब्याट्रीले ३८० र ठूलो ब्याट्रीले ४५० किलोमिटरसम्म रेन्ज दिन सक्ने देखिन्छ । जुन नेपालको लागि प्रयाप्त नै हुनेछ ।
प्रविधि र फिचर
युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार विस्तारमा देखिएको लीपमोटरले बी-१० एसयूभीलाई फिचर लोडेड बनाएर ल्याएको छ । टेक्नोलोजीमा पनि कम्पनीले कुनै सम्झौंता गरेको छैन । ‘लीप ३.५ आर्किटेक्चर’मा बनेको बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग भएको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० सुरक्षाको हिसावले पनि अब्बल हुनेछ ।
साइज
बी-१०ले धेरैको ध्यान खिच्ने अर्को विषय यसको साइज पनि हो । कम्पनीले यसलाई ४५१५ एमएम लामो, १८८५ एमएम चौडा र १६५५ एमएम अग्लो बनाएको छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस दिइएको छ ।
मूल्य
नेपाली बजारमा एसयूभीको लुक, पर्फमेन्स र टेक फिचरपछि महत्वपूर्ण कुरा मूल्य पनि हो । ठूलो मोटरमा आउने भएको कारण कर नै धेरै तिर्नु पर्ने बाध्यता रहन्छ । तरपनि कम्पनीले ५० देखि ६० लाख भित्रै मूल्य राखेर यसलाई बिक्री गर्ने अनुमान गर्न सकिन्छ ।
कहिले खुल्छ बुकिङ ?
साँग्रिला मोटर्सले आगामी साउन २१ गतेबाट सुरु हुने नाइमा नेपाल मोविलिटी एक्स्पोबाट यसको बुकिङ खुल्ला गर्ने तयारी गरिरहेको जनाएको छ ।

