कम डाउन पेमेन्ट र सस्तो ब्याजदरले नयाँ कार किन्नेलाई फाइदा

काठमाडौं । असार १ गतेदेखि आंशिक रुपमा लकडाउन खुकुलो भएसँगै सवारीसाधन बिक्री सुरु भएको छ । करिब ८० दिनपछि गाडीका शोरुम खुल्न थालेसँगै विभिन्न कम्पनीहरुले अफर ल्याउन सुरु गरेका छन् ।

निसान, डाट्सन, मारुती सुजुकी, हुन्डाई, फोर्ड, फक्सवागन जस्ता कम्पनीले ग्राहकलाई तान्न विभिन्न किसिमका अफर ल्याए । यस्ता अफरले ग्राहकलाई गाडी किन्न सहज भएको छ ।

यस्ता विभिन्न अप्सनलाई ग्राहकले केलाएर निर्णय गर्ने हुँदा त्यसको फाइदा गाडी किन्नेलाई पुगेको छ । यद्यपि, जसरी कम्पनीहरुले आफ्नो जोखिम बढाएर गाडी बिक्री सुरु गरे त्यसले सरकारी निर्णयको समेत पालना हुन नसकेको हो कि भन्ने तर्फ भने इंगित गरेको छ ।

बैंकहरुले पनि गाडी किन्ने मानिसलाई ब्याजदरमा अफर गर्ने गरेका छन् । यस वर्षपनि विभिन्न वाणिज्य बैंकहरुले गाडी बिक्रेता कम्पनीसँग सम्झौँता गरेर अटो कर्जा प्रवाह गर्न थालेका छन् । यसले समग्र अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग पुगेको छ ।

ब्याजदरमा प्रतिस्पर्धा

होन्डा कारको बिक्री वितरण गर्दै आएको स्याकार ट्रेडिङले होन्डाका कार किन्ने ग्राहकलाई ४.२५ प्रतिशतको ब्याजदर अफर गरेको छ भने विभिन्न वाणिज्य बैंकहरुले ८.२५ देखि १०.५ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।

होन्डाले ३० प्रतिशत डाउन पेमेन्ट लिएर बाँकी रकम ७ वर्ष भित्र चुक्ता गर्नेगरी कर्जा पवाह गरिरहेको छ ।

मारुती सुजुकीका गाडी किन्न चाहने ग्राहकले २० देखि २५ प्रतिशत डाउन पेमेन्टमा नै गाडी किन्न सक्ने छन् । कम्पनीले आफैं सिजी हायर पर्चेजबाट कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीले ल्याएको योजनामा गाडी किन्ने ग्राहकले १०.५० प्रतिशतदेखि ११.५० प्रतिशतसम्म ब्याज तिर्नु पर्ने हुन्छ ।

वाणिज्य बैंकहरु सानिमा, एनआईसी एशिया, नबिल, लक्ष्मी लगायतका बैंकहरुले गाडी बिक्रेता कम्पनीहरुसँग सम्झौता नै गरेर अटोकर्जा दिइरहेका छन् ।

एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा चमत्कारिक अटो कर्जा स्कीम ल्याएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले आवेदन दिएको ४८ घन्टामा कर्जा स्वीकृति पाउने जनाइएको छ । बैंकबाट अटो कर्जा लिने ग्राहकले ०.२५ प्रतिशत मात्रै सेवा शुल्क तिरे पुग्ने जनाएको छ ।

अहिले बजारमा सबैभन्दा सस्तो अटो कर्जा दिने मध्यको एक बैंकमा एनआईसी एशिया बैंक पर्छ । बैंकले एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र १० वर्षका लागि कर्जा लिन सकिने जनाएको छ ।

केही गाडी आयातकर्ता कम्पनीले आफ्नै जोखिममा ३० प्रतिशत रकम लिएर गाडी बिक्री गरिरहेका छन् । उनीहरुले डाउन पेमेन्ट वापतको थप २० प्रतिशत रकम ४ वा ६ महिनासम्ममा तिर्ने शर्तमा गाडी दिइरहेको बताएका छन् । यसरी गाडी दिनेमा निसान, डाट्सन, फोर्ड लगायतका कम्पनी रहेका छन् ।

मासिक किस्तापनि कम्पनीले तिरिदिने

हुन्डाई, निसान, डाट्सन, रेनो लगायतका कम्पनीले ग्राहकलाई मासिक किस्तापनि तिरिदिने योजना अगाडि ल्याएका छन् ।

हुन्डाईले मासिक किस्ताको ५० प्रतिशत रकम १२ किस्तासम्म तिरिदिने योजना अगाडि ल्याएको छ भने निसान र डाट्सनले ६ महिनासम्मको पूरै रकम तिर्ने अफर गरेको छ । त्यस्तै रेनो र फक्सवागनले पनि एक वर्षसम्म ठूलो हिस्सा रकम तिर्ने घोषणा गरेको छ ।

टाटा र महिन्द्राले ल्याएनन् अफर

महिन्द्रा सधैं स्कीममा विश्वास नगर्ने कम्पनीमा पर्छ । उसले अहिलेसम्म कुनै स्कीम घोषणा गरेको छैन ।

‘ग्राहकलाई सधैं एउटै मूल्यमा गाडी, सर्भिस र अन्य सुविधा दिन्छौं । क्षणिक अफरमा विश्वास छैन’, कम्पनीका एक अधिकारीले मेरोअटोसँग भने ।

सधैं जसो अफर ल्याउने टाटाले पनि यसपटक कुनै अफर ल्याएको छैन । यद्यपि कम्पनीले दिने रेगुलर छुट सुविधा भने दिइरहेको छ । साथै कोभिड १९ सँगको लडाईमा अग्रपंक्तिमा रहेका काम गर्नेहरुको लागि थप ५० हजार रुपैयाँ छुट दिने कम्पनीले उल्लेख गरेको छ ।


Back_to_top