कम लगानीमा उत्कृष्ट डर्ट बाइक खोज्नेलाई ४ विकल्प

काठमाडौं । डर्ट बाइकलाई आरामदायी सस्पेन्सन, उच्च पर्फमेन्स, पावरफुल इन्जिन, आकर्षक लुक्स तथा बडी डिजाइनको कारण युवा पुस्ताले बढी रुचाउने गरेका छन् ।

जस्तोसुकै सडकमा सहजै गुड्ने भएकाले टाढा र अप्ठ्यारो सडकको यात्राको लागि यस्ता बाइकको छनौट गरिन्छ । पछिल्लो समय, युवापुस्तामा डर्ट बाइक प्रति विशेष रुचि भएको पाइन्छ ।

विशेषत, डर्ट बाइक उच्च मूल्यकै हुने गर्छन् । हाल, नेपाली बजारमा सुरुवाति मूल्य ३ लाख ५० हजार रुपैयाँदेखि नै डर्ट बाइक किन्न सकिन्छ । साथै, विभिन्न कम्पनीले महंगा मूल्यका डर्ट बाइकसमेत बिक्री गर्दै आएका छन् । नेपाली बजारमा उपलब्ध सस्ता मूल्यका डर्ट बाइक भने यस्ता छन् ।

होन्डा एक्सआर १२५ एल

होन्डाको सस्तो डर्ट बाइक एक्सआर १२५ एल नेपाली बजारमा ३ लाख ९० हजार रुपैयाँमा बिक्री भइरहेको छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फोर स्ट्रोक इन्जिनले ६ हजार आरपीएममा १०.४० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसको फ्रन्ट साइडमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म सस्पेन्सन दिइएको छ ।

यसको लम्बाई २१०० एमएम, चौडाई ८२० एमएम, उचाई  ८२५ एमएम र ह्वीलवेश १४५० एमएम रहेको छ । १२ लिटर क्षमताको फ्युल ट्यांकी भएको यो बाइकमा आकर्षक सुविधा दिइएको छ ।

एक्सपल्स २००

हिरोले केही दिनअघि नेपाली बजारमा ल्याएको एक्सपल्स २००को मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । एक्सपल्स २०० रातो, कालो, सुनौलो र हल्का एक्सिस कैलो गरी ४ रङमा उपलब्ध छ ।

एक्सपल्स २०० मा उपलब्ध २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्जेड, सिंगल सिलिन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स समावेश गरिएको छ ।

एक्सपल्स २०० को लम्बाई २ हजार २२२ एमएम, चौडाइ ८ सय ५० एमएम र उचाई १ हजार २५८ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने ह्वीलवेश १ हजार ४१० एमएम रहेको छ ।

यामाहा एक्सटीजेड १२५

एमएडब्ल्यु इन्टरप्राइजेजले बिक्री गर्दै आएको डर्ट बाइक एक्सटीजेड १२५ को मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा १२४ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिन छ, जसले १२.३३ एचपी पावर र ११.६ एनएम टर्क प्रदान गर्छ ।

यामाहाले पहिलो पटक नेपाली बजारमा ल्याएको अफरोड डर्ट बाइक यही हो । यो बाइकलाई पहिलो पटक गत नाडा अटो शो २०१८ मा प्रदर्शन गरिएको थियो ।

रनर हक

रमन मोटर्सले बिक्री गर्दै आएको २०० सीसीको हक मोटरसाइकल सस्तो डर्ट बाइक अन्तर्गत पर्ने गर्छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । १९८.३ सीसी इन्जिन क्षमता रहेको मोटरसाइकलले ७५०० आरपीएममा १२.७ एचपी पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क जेनेरेट गर्छ ।

रनर हकको लम्बाई २ हजार ९० एमएम, चौडाई ८ सय ८० एमएम र उचाई १ हजार १८० एमएम रहेको छ । यसमा १ हजार ३६० एमएमको ह्वीलवेश दिइएको छ ।


Back_to_top