काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक एलएस अटोको एलईभी एक्स काठमाडौं आइपुगेको छ ।
नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर्सले ल्याएको एलईभीको अलह्वील ड्राइभ एसयूभी एलईभी एक्स चोभार भन्सार कार्यालयमा आइपुगेको हो ।
कम्पनीले एलईभीको नयाँ इलेक्ट्रीक मोडलहरू एलईभी एक्स र एलईभी फाइभ नाडा अटो शोमा पहिलो दिनमै प्रदर्शन गर्ने योजना बनाएको थियो । तर, सिन्धुपाल्चोकको तातोपानी भन्सार नजिकै इकुमा पहिरो जाँदा रोकिएको थियो । तातोपानी सडक बिहीबार अपराह्नदेखि खुले लगत्तै एलईभी काठमाडौं ल्याइएको हो ।
नेक्सन भेन्चर्सका प्रबन्ध निर्देशक विकास साहले आज एलईभी एक्सको भंसार प्रक्रिया पूरा गरी भोलिदेखि नाडा अटो शोमा राखिने जानकारी दिए ।
‘तातोपानी सडक खुलेसँगै हामीले एलईभी एक्स काठमाडौं ल्याइसकेका छौं,’ उनले मेरोअटोसँग भने, ‘आज भन्सार प्रक्रिया पूरी गरी भोलिदेखि नाडा अटो शोमा राख्छौं ।’

एलएस अटोकै अर्को प्रिमियम ह्याचब्याक मोडल एलईभी फाइभ नेपाल आउने क्रममा रहे पनि हालसम्म चिनियाँ भू-भागमै छ । त्यसैले आइतबारसम्म संचलन हुने नाडा अटो शोमा प्रदर्शन हुने छैन ।
यस्तो छ एलईभी एक्स
नेपाली बजारमा केही समयदेखि बिक्री भइरहेको एलईभी ०१ को एलईभी एक्स फोरह्वील ड्राइभ भर्सन हो । यो एसयूभीमा सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एलईभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्युल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।
एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो ।
एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

