काठमाडौं । गत असार २४ गतेदेखि बन्द गल्छी-त्रिशुली-स्याफ्रुबेँसी-रसुवागढी सडकको अझै ३०० मिटर खण्ड अवरुद्ध रहेको छ । सडक विभागका अनुसार टिमुरे र चेकपोष्ट क्षेत्रमा बाढीले कटान गरेको सडकमा नयाँ ट्रयाक खोल्न बाँकी रहेको हो ।
गत असार २४ गते आएको बाढीले विभिन्न ठाउँको करिब १३०० मिटर सडक बगाएको थियो । उक्त स्थानमा नयाँ ट्रयाक खोली साउन ४ गते यातायात सञ्चालनमा ल्याइएको थियो । तर, फेरि साउन १४ गते आएको बढीले थप ६०० मिटर सडक बगाएपछि हालसम्म अवरुद्ध छ ।
विभागका महानिर्देशकको सचिवालयका अनुसार साउन १४ गते पुनः आएको बाढीले थप ५ स्थानमा ६०० मी सडक पूर्ण क्षति पुयाएको थियो । सोमध्ये हालसम्म मेदामुदुङ, कुलुङ र तातोपानीमा नयाँ ट्रयाक खोली सडक खुलाइए पनि टिमुरे र चेकपोष्ट क्षेत्रमा अझै अवरुद्ध रहेको छ ।
त्यस क्षेत्रमा सडकको तल्लो भाग नदीले बगाएको र भित्तोपट्टी पनि कडा चट्टान रहेकाले ट्याक खोल्न समस्या भइरहेको विभागले जनाएको छ ।
टिमुरेमा ट्रयाक खन्ने क्रममा विभागकै एक्साभेटर पहिरोमा पुरिएको थियो । जसलाई ९ दिनको प्रयासपछि मात्र सफलतापूर्वक उद्धार गरिएको थियो ।
अझै ३०० मी सडक अझै अवरुद्ध अवस्थामा छ । अहिले निरन्तर ट्रयाक खोल्ने कार्यमा जुटिरहेको विभागले जनाएको छ । मौसमले साथ दिएमा करिब एक हप्ताभित्र सडक सञ्चालनमा आउने विभागको अपेक्षा छ ।

