काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को नयाँ आवेदन र छपाइ अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकाले लाइसेन्सको आवेदन र छपाइ रोकिएको जानकारी गराएको हो ।
हाल उक्त समस्या समाधानको प्रयास भइरहेको र समाधान भएपछि नियमित हुने विभागले जनाएको छ ।
‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधान कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली)हरुको सबै सेवा बन्द भएको व्यहोरा जानकारी गराइन्छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।