काठमाडौं । यातायात व्यवस्था कार्यालयको अभिलेख (ढड्डा)मा पूर्ण विवरण नभेटिएका लाइसेन्स पनि स्व-घोषणाका आधारमा एकपटकका लागि नवीकरण गर्न पाइने भएको छ ।
यातायात व्यवस्था विभागले ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशिका अनुसार प्रणालीमा सवारी चालक अनुमतिपत्र नम्बर रहेका तर पूर्ण विवरण नभएका लाइसेन्स चालकसँग भएको विवरण, कार्यालयको अभिलेख वा सेवाग्राहीको स्व-घोषणाको आधारमा पुनः अभिलेख कायम गरी नवीकरण गर्न पाइने छ । यद्यपि, अनुसन्धानका क्रममा रहेका लाइसेन्स भने नवीकरण नहुने निर्देशिकामा स्पष्ट उल्लेख छ । अनुसन्धान टुंगो नलागेसम्म वा फुकुवा नभएसम्म नवीकरण गर्न पाइने छैन ।
‘नियमनकारी निकायबाट अनुसन्धानका क्रममा रोक्का भएका बाहेक एकपटकका लागि प्रणालीमा सवारी चालक अनुमतिपत्र नम्बर रहेका तर पुर्ण विवरण नभएका सवारी चालक अनुमतिपत्रको हकमा चालक अनुमतिपत्र बाहकसँग भएको विवरण, कार्यालयको अभिलेख वा सेवाग्राहीको स्व-घोषणाको आधारमा पुनः अभिलेख कायम गरी नवीकरण गर्ने,’ निर्देशिकामा भनिएको छ ।
तर, स्व-घोषणा गर्दा पेस गरिएका विवरणको कानुनी तथा प्राविधिक जिम्मेवारी भने स्वयं सवारी चालकले नै लिनुपर्नेछ । झूटो विवरण पेस गरी नवीकरण गराएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुनेछ ।
निर्देशिका अनुसार सेवाग्राहीले सम्बन्धित प्रदेशका यातायात व्यवस्था कार्यालयहरु बाटै स्व-घोषण गरी लाइसेन्स नवीकरण गर्न सक्नेछन् । यसअघि यातायात व्यवस्था विभाग नै धाउनुपर्ने बाध्यता थियो ।
यससँगै ३ लाख बढी सेवाग्राही लाभान्वित हुने भएका छन् । विभागको सफ्टवेयर प्रणाली परिवर्तन, जेनजी आन्दोलनका क्रममा यात्रायात कार्यालयमा आगजनी, प्राविधिक त्रुटि लगायत कारण विवरण हराएका सेवाग्राहीले अब स्व-घोषणा गरेर आफ्नो लाइसेन्स नवीकरण गर्न सक्नेछन् ।

