देशका २२ यातायात कार्यालयबाट सुरू भयो लाइसेन्स सम्बन्धी सेवा

काठमाडौं । देशका आधाबढी याताायात कार्यालयबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा सुचारु भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्दा लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा बन्द भएको थियो ।

विभागले सर्भर मर्मत गरी आइतबारदेखि आंशिक सेवा सुचारु गरेसँगै देशका विभिन्न कार्यालयहरूबाट पनि लाइसेन्स सम्बन्धी सेवा पुनः सुरू भएको हो ।

विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले मंगलबार रातिसम्म देशभरका ४२ मध्ये २२ कार्यालयबाट लाइसेन्स सम्बन्धी सेवा सुरू भएको जानकारी दिए ।

उनका अनुसार उपत्यकासहित सातै प्रदेशका विभिन्न कार्यालयबाट सेवा सुरू भएको छ । थप कार्यालयहरूमा पनि क्रमशः सेवा सुचारु गरिँदै लगिने उनले बताए ।

‘भदौ २४ देखि अवरुद्ध लाइसेन्स सम्बन्धी सेवा आइतबारदेखि सुरू गरिएको थियो । मंगलबार रातिसम्म देशभरका ४२ मध्ये २२ कार्यालयमा अनलाइन प्रणाली संचालनमा आएको छ,’ उनले मेरोअटोसँग भने, ‘क्रमशः अन्य कार्यालयहरूमा पनि सेवा सुचारु गर्दै लग्छौं ।’

आन्दोलनका कारण धेरै क्षति भएका आधादर्जन बढी कार्यालयबाट सेवा सुरू हुन अझै समय लागने उनले बताए । उनका अनुसार यातायात कार्यालय चितवन, पोखरा, इटहरी, लहान, बुटवल, दाङ र धनगढीबाट तत्काल लाइसेन्स सम्बन्धी सेवा सुचारु गर्न सक्ने अवस्था नरहेका उनले बताए ।

‘आगजनीबाट धेरै क्षति भएका ७ कार्यालयबाट तत्काल सेवा सुरू गर्न समस्या भएको छ । सम्बन्धित कार्यालयहरूले आवश्यक तयारी पूरा गरेपछि मात्रै अनलाइन सिस्टम चलाउन सकिन्छ,’ उनले भने ।

सेवा संचालनमा आएका कार्यालयहरूबाट सेवाग्राहीले लाइसेन्स नवीकरण लगायत काम गर्न सक्ने उनले बताए । नयाँ आवेदन भने केही दिनमा मात्रै खुलाइने उनको भनाइ ।

देशभरबाट औसतमा दैनिक ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको तथ्यांक छ । अहिले देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आइएको छ ।


Back_to_top