काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधन हराएको अवधिको कर छुट दिने भएको छ ।
प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको ‘आर्थिक ऐन २०८२’ मा यस्तो व्यवस्था गरेको हो ।
सवारीधनीले आफ्नो सवारी साधन हराएको अवधिकाे कर छुट पाउन भने दुई वटा प्रक्रिया पूरा गरेका हुनुपर्नेछ ।
सवारीधनीले सबैभन्दा पहिला हराएको सवारी साधनको नवीकरणका लागि यातायात कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा सवारी हराएको प्रहरी कार्यालयको सिफारिस पत्र र यातायात व्यवस्था कार्यालयमा रोक्का गरेको प्रमाण पेश गरेमा हराएको अवधिभरको कर, नवीकरण शुल्क र जरिवाना सबै छुट पाइने छ ।
‘कुनै पनि सवारीधनीले सवारी हराएको र फेला परेको सम्बन्धमा प्रहरी कार्यालयको सिफारिस पत्र र यातायात व्यवस्था कार्यालयमा रोक्का गरेको प्रमाणसहित नवीकरणका लागि पेश गरेमा सवारी हराएको र फेला परेको अवधि भित्र लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र सोमा लाग्ने जरिवाना छुट हुनेछ,’ आर्थिक ऐनमा भनिएको छ ।

