बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आज समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रुपमा विकास गर्न चाहेको बताए ।
प्रधानमन्त्री ओलीले बुद्ध दर्शन तथा यसमा इच्छा, विश्वास तथा लगाव राख्ने सबै मानव जातिका लागि पवित्र पुण्यस्थल बनाउने बताउँदै विश्वलाई अँध्यारोबाट हटाउनका लागि बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्याएको समेत बताए ।
यस क्षेत्रको समग्र विकासका लागि विश्व समुदायको सहयोग आवश्यक रहेको भन्दै उनले आउँदा दिनमा सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई अगाडि बढाइने उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले ‘आफ्नो नेतृत्वको सरकार समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई चरितार्थ गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको र यस्ता सम्मेलनले सरकारको प्रतिबद्धता अगाडि बढाउनका लागि प्रेरणा मिल्ले उल्लेख गर्दै वैशााख पूर्णिमाका अवसरमा ज्ञान प्राप्ति तथा विश्वका अमर छोरा अत्यन्त शान्त आत्मामा सम्मिलित भएको स्मरण गरेका थिए ।
शान्ति प्रक्रियामार्फत लोकतान्त्रिक प्रक्रियाबाट संविधान निर्माणजस्तो ऐतिहासिक कार्य सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै उनले तीनै चरणको निर्वाचन सम्पन्न गरी मुलुक शान्ति र समृद्धिको बाटोमा अघि बढेको बताए ।
इतिहासमा नै पहिलोपटक प्रजातान्त्रिक प्रक्रियाबाट शक्तिशाली सरकार निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताले सरकारबाट सहज जीवनयापनको सपनालाई वास्तविकता पाउने सदिच्छा व्यक्त गरेको बताए ।