दुई महिनापछि नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन हुने

काठमाडौं । नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देशको वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न भएको छ । 

बैठकमा व्यापार र पारवहनसँग सम्बन्धित विषयलाई छलफल तथा पुनरवलोकन गर्ने विषयमा सहमति भएको छ । सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रीता तोतियाले नेतृत्व गरेका थिए । 

बैठकमा दुई देशबीचको व्यापार विस्तार, सहजीकरण तथा लगानीका विविध आयामका बारेमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यही वैशाख १३ र १४ गते काठमाडौँमा भएको दुई देशको सचिवस्तरीय बैठकमा सन् २०१८ को जुलाईमा दुई देशबीचको वाणिज्य सन्धिको पुनरवलोकन गर्ने गरी बैठकको आयोजना गर्न सहमतिसमेत भएको छ । वाणिज्य सन्धि सन् २००९ मा पुनरवलोकन भएको थियो । 

बैठकमा दुई देशको सीमा क्षेत्रमा रहेका भन्सारविन्दुमा भौतिक पूर्वाधारको निर्माण, सहज आवागमन तथा व्यापार व्यवसायमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै दुई देशबीच उद्योगी तथा व्यवसायीबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि समेत पहल गर्ने सहमति भएको छ । 


Back_to_top