काठमाडौं । आगामी भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शो २०२४ मा धेरै इलेक्ट्रीक ब्राण्डहरुले आफ्ना उत्पादन देखाउने तयारी गरेका छन् ।
करिब ८ नयाँ ब्राण्डले बिद्युतीय कारको बिक्री नै नाडाबाट थाल्ने भएका छन् । यस्तोमा अटो शोमा के के नयाँ मोडल आउला भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । तर, आज हामीले अटो शोमा आउन लागेका दुई मिनी ईभीहरु चांगान लुमिन र केई क्यूट-०२ का बारेमा यहाँ चर्चा गर्न लागेका छौं ।
मूल्यका हिसावले यी दुबै कारको मूल्य २२ लाख हाराहारी पर्नेछ । सानो ३ वटा मात्र ढोका भएको ४ सिट क्षमताका कारहरु चढ्दा पछाडि बस्ने यात्रुले अगाडिको सिट ढालेर पस्नु पर्छ ।
साइजमा फरक
लुमिन मिनी कारको लम्बाई ३२७० एमएम, चौडाई १७०० एमएम र उचाई १५४५ एमएम छ । यसमा १९८० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

केई ईक्यूट-०२ को लम्बाई ३३४५ एमएम चौडाई १६८५ एमएम र उचाई १६०५ एमएम छ । यसको ह्वीलवेस २१५० एमएम लामो छ । केई ईक्यूट-०२ लुमिन भन्दा लम्बाई, उचाई र ह्वीलवेसमा ठूलो छ । लुमिनको चौडाई १५ एमएमले धेरै छ ।
लुमिनको ग्राउण्ड क्लियरेन्स १५० एमएम छ । केई ईक्यूट-०२ को ग्राउण्ड क्लियरेन्स बारे केही जानकारी बाहिर आएको छैन । ह्वीलवेस सानो हुने भएकाले मिनी कारमा ग्राउण्ड क्लियरेन्सले खासै फरक पार्दैन ।
एक्सटेरियर डिजाइन
ईपीएओ प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको लुमिन सिटी कारको फ्रन्टमा आकर्षक राउण्ड सेपको एलइडी हेडलाइट दिइएको छ । यो कारको ह्वील पनि आकर्षक व्ल्याक एण्ड ह्वाइट कम्बिनेसनमा छ । यसमा १४ इन्चको ह्वील पाउन सकिन्छ ।
केई क्यूट-०२ पनि प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको कार हो । यसको अगाडि क्लोज अफ ग्रिल पाउन सकिन्छ । फ्रन्टमा आकर्षक हकआई डिजाइनको एलइडी हेडलाइट रहेको कारमा फ्लस ह्याडलबार र रियरमा एरोडाइनामीक टेलविङ डिजाइन दिइएको छ ।

इन्टेरियरमा फरक
लुमिन ईभीमा थ्री स्पोक स्टेरिङल ह्वील, १०.२५ इन्चको फ्लोटिङ टचस्कृन डिस्प्ले, रिभर्स पार्किङ क्यामरा र सेन्सर, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रिभर्स क्यामरा, मोवाइल इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
केई क्यूट-०२ मा सेग्मेन्ट फस्ट ३६० डिग्री क्यामरा र कोलुम गियर सिफ्टर जस्ता फिचर छन् । यसमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्कृन, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कण्डिसन, फिजगेट स्पीनर कि, पुस बटम स्टार्ट जस्ता फिचर रहेको छ ।
ब्याट्री र मोटरमा फरक
केई क्यूट-०२ मा ब्याट्री र मोटर दुबै २ वटा अप्सनमा दिइएको छ । यसमा १७.६९ र २८.०८ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक छ । यो ईभीमा ३५ र ४० किलोवाटको दुई फरक इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटरको साथमा १७.६५ र २८.०८ किलोवाट अवारको दुईथरी ब्याट्री प्याक अप्सन रहेको छ । यो ईभीको टप भेरियन्टको रेन्ज ३०१ किलोमिटरसम्म हुनेछ ।
यी दुबै ईभीले ३० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । दुबै ईभीलाई फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । दुबै कारको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

