यस्तो छ २०२२ को सर्वाधिक लग्जरी इलेक्ट्रीक कार

काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो ।

जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै आएको छ । यी दुबै भेरियन्टमा सबैभन्दा ठूलो फरक पावरमा देखिन्छ । इक्यूएस ४५० मा २४५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । त्यो भनेको ३२९ हर्स पावर हो । त्यसैगरी यसको टर्क ५५० एनएम रहेको छ ।

मर्सिडिजले इक्यूएस ५८० मा भने ३८५ किलोवाट क्षमताको मोटर छ । त्यो भनेको ५१६ हर्स पावर हो । यसको अधिकतम टर्क भने ८२८ एनएम रहेको छ । अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध इक्यूएसले सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ३.७ सेकेन्डमा भेट्टाउने छ ।

लग्जरी ब्राण्ड र लग्जरी कार भएको कारण ग्राहकले यसमा १९ देखि २१ इन्चसम्मको ह्वील छनोट गर्न पाउने छन् । दुबै कारमा समान १०७.८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा इक्यूएस ४५० मोडलमा ५६० र इक्यूएस ५८० मोडलमा ५४५ किलोमिटर रेन्ज आउने दावी गरिएको छ । तर, विभिन्न टेष्टले यसको रेन्ज ४१७ किलोमिटर हाराहारी आउने देखाएको छ ।

यसमा रहेको ब्याट्रीलाई ११ किलोवाट क्षमताको चार्जरले चार्ज गर्दा फुल चार्ज हुन ११ घन्टा लाग्नेछ । यदि २४० भोल्टको डिसी फास्ट चार्जरबाट चार्ज गर्ने हो भने ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्ने कम्पनीको दावी छ ।

सेडान कार भएको कारण यसको लग्जरी जो कोहीले सहजै अनुमान लगाउँन सक्नेछन् । अहिले सबैभन्दा खोजी हुने फिचरको कुरा गर्नु पर्दा यसमा डिजिटल क्लष्टर १२.३ इन्चको छ भने इन्फोटेन्टमेन्ट सिस्टम १७.७ इन्चको प्रयोग गरिएको छ । मर्सिडिजले यसमा ५६ इन्च लामो हाइपरस्कृन दिएको छ ।

फिङ्गर प्रिन्ट स्क्यानर, भ्वाइस कमाण्ड सपोर्ट, हेडअप डिस्प्ले, ६ वटा यूएसबी पोर्ट, बरमास्टर्स अडियो सिस्टम जस्ता सुविधा यसमा पाउन सकिन्छ ।

अल इलेक्ट्रीक इक्यूएसमा ड्राइभर एसिस्ट्यान्स टेक्नोलोजी, सेल्फ पार्किङ, एडप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक सेप्टी एडमिस्ट्रेशन जस्ता फिचर दिएको छ । कम्पनीले यसको सुरुवाती मूल्य १ लाख ७ हजार डलर कायम गरेर अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको छ ।


Back_to_top