चार वर्ष अगाडिका लग्जरी फिचर, अहिले सामान्य कारमा पाइन्छ

काठमाडौं । चार वर्ष अगाडिसम्म लग्जरी कारहरूमा मात्रै पाइने धेरैजसो फिचरहरू अहिले सामान्य कारमै पाउन थालिएको छ । विश्वव्यापी कार उत्पादनमा चलिरहेको प्रतिस्पर्धाले कुनै समय लग्जरी कारमा मात्रै दिइने फिचरहरू अहिले सामान्य कारमा पाइन थालेको हो ।

विशेषगरी चिनियाँ कार निर्माताहरूको बढ्दो विश्वव्यापी प्रभावसँगै गाडीमा टेकफिचर सामान्य बन्न थालेको हो । नत्र, सन् २०२० ताका भारतमा उत्पादन भएका अधिकांश गाडीको इन्ट्री भेरियन्टमा पावर विन्डोदेखि स्क्रीनसम्म थिएन ।

जसरी सन् २०२३ बाट चिनियाँ कार निर्माताहरूको प्रभाव विश्वव्यापी रुपमा बढ्यो । त्यसपछि कारमा फिचरहरूको लामो लिस्ट आउन थाल्यो । अहिले नेपाली बजारमा उपलब्ध २५ लाख कै कारमा एडास फिचरदेखि ३६० डिग्री क्यामेरासम्म पाउन सकिन्छ ।

कार उत्पादकहरूले एडास बाहेकका फिचरमा पनि निकै दिलखोलर काम गर्न थालेका छन् । कुनै समय ह्याड ग्रिपदेखि सार्क फिन एन्टिनासम्मका फिचरहरू प्रिमियम कारहरूमा मात्रै पाइन्थ्यो । अहिले आएर सामान्य कारमै हेडअप डिस्प्ले, धेरैवटा स्क्रीनदेखि जेक्स्चर कन्ट्रोलसम्मका फिचरहरू उपलब्ध हुन थालेका छन् ।


बढ्दो उत्पादकहरूको प्रतिस्पर्धा र विद्युतीय कारको बढ्दो उत्पादन र प्रयोगसँगै टेक्नोलोजीमा आधारित फिचरको विकासमा छलाङ नै लागेको मान्नुपर्छ । पछिल्ला ५ वर्षमा प्रयोगमा आएका आधुनिक तर कम मूल्यकै कारमा पाइने फिचर यस प्रकार छन् ।

एडास फिचर : सुरक्षामा आधारित एडास अहिले लेभल टु धेरै प्रयोग हुँदै आएको छ । चार वर्ष अगाडि नेपालमा करोड मूल्य तिरेर किन्दा पनि एडास फिचर भएको कार पाइन्नथ्यो । अहिले आएर ३० देखि ४० लाख मूल्यका कारमै एडास फिचर पाइन्छ ।

३६० डिग्री क्यामेरा र फ्रन्ट पार्किङ सेन्सर : आजकल २५ लाखकै कारमा पनि ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा आउन थालेको छ । यसको सहायताले साँघुरा बाटोमा गाडी चलाउनेदेखि पार्किङमा पनि सहज गाडी राख्न सकिने भएको छ । अझ, थपिँदै गएको फ्रन्ट पार्किङ सेन्सरले चालकलाई निकै सजिलो भएको छ ।

इलेक्ट्रीक पार्किङ ब्रेक र अटो होल्ड : साना, सस्ता र किफायती कारमा पनि इलेक्ट्रीक पार्किङ ब्रेक र अटो होल्ड फिचर आउन थालेको छ । यी दुई फिचरको सहायताले काठमाडौं ट्राफिकमा गाडी चलाउन निकै सजिलो बनाएको छ । विशेषगरी अटो होल्डको फिचरको प्रयोग अहिले ब्यापक भएको छ । यो फिचर निकै उपयोगी बन्दै आएको पनि छ ।

फ्रेमलेस डोर : फ्रेमलेस डोरको प्रयोग सुरू भएको छोटो समय मात्रै भयो । खासगरी चिनियाँ कारहरू बजारमा आएसँगै यसको प्रयोग ब्यापक बनेको हो । यसको प्रयोग ३०-३२ लाखकै गाडीमा भएको पाइन्छ ।

धेरै स्क्रीन : डिजिटल स्क्रीनको प्रयोग पनि पछिल्लो ४-५ वर्षमै धेरै भएको हो । अहिले कति ठूलो र कतिवटा स्क्रीनको प्रयोग गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । केही वर्ष अगाडि निकै महँगा कारमा मात्रै ठूला स्क्रीन उपलब्ध थिए । अहिले यो फिचर सामान्य बनेको छ ।

लेदररेट सिट : लेदर जस्तै लाग्ने सिटको प्रयोग पनि सस्ता कारमा भएको थिए । अहिले २० लाखबाटै पाइने कारमा लेदररेट पाइन्छ । खासगरी रेग्जीन वा पीयू लेदर भनेर चिनिने मेटेरियलको प्रयोगबाट लेदररेट तयार पारिन्छ ।

वेलकम सिट र जेक्स्चर कन्ट्रोल : यो फिचर त कम मूल्यका कारमा कल्पना नै गरिएको थिएन । कुनै समय खुट्टाको इसारामा बुट खोल्ने फिचर निकै ठूलो थियो । अहिले इसाराकै भरमा फोटो खिच्ने, गित बजाउने, फोन रिसिभ गर्ने जस्ता काम गर्न सकिन्छ । त्यसमा पनि गाडीमा पवबेश गरेपछि चालकको सिट आफैँ मिल्ने फिचरले अहिले धेरैको मन जितेको छ । यी र यस्ता कयौं नयाँ फिचर भएका कार नै २० देखि ५० लाख रुपैयाँ तिर्दा सहजै किन्न पाइन्छ ।

 


Back_to_top