महावीर पुनले बनाएको इलेक्ट्रीक कार केही दिनपछि परिक्षण हुने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सुरु गरेको पुराना डिजेल पेट्रोल गाडीलाई इलेक्ट्रीक बनाउने काम अन्तिम चरणमा पुगेको छ । केन्द्रले पुराना गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने योजनाका साथ काम गरिरहेको थियो ।

‘अहिले हामीले सबै काम सकेका छौं । त्यसको लागि आवश्यक पर्ने केही पार्टस चीनबाट मगाएका थियौं । त्यो भन्सारमा आएर रोकिएको छ । ती सामान आउनासाथ त्यसको परिक्षण सुरु हुने छ’, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले भने ।

पुनका अनुसार नेपालमा रहेका सबै पुराना गाडीलाई इलेक्ट्रीकमा परिमार्जन गर्न सकिन्छ । त्यसले पैसा बाहिर जानबाट जोगाउछ भने विद्युत उपभोग बढाउँछ ।

‘मैले नेपाल विद्युत प्राधिकरणलाई प्रस्ताव गरेको छु । त्यो काम प्राधिकरणबाटै हुन सक्यो भने राम्रो संदेश जान्छ । अहिले प्राधिकरणसँग थुप्रै पुराना गाडी छन्’, पुनले भने ।

त्यसको लागि प्राधिरकण प्रबन्ध निर्देशक कुलमान घिसिंगसँग आफुले कुरा गरिरहेको पुनले जानकारी दिए ।

सरकारले पनि आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत पुराना सवारीसाधनलाई इलेक्ट्रीमा परिमार्जन गर्न ल्याउने पार्टसमा १ प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरेको छ । यसले पुराना गाडीलाई इलेक्ट्रीकमा रुपान्तरण गर्न केही भएपनि सहयोग पुग्ने छ ।

पुन भन्छन्, ‘अहिलेको हाम्रो कानुनमा केही परिमार्जन गर्नु पर्छ । यसरी मोडिफाई गरेर तयार भएका गाडीको सुरक्षा परिक्षण गर्ने र सडकमा चलाउन लायक भए नभएको सरकारले हेर्नु पर्छ ।’

पुनले भने जस्तै व्यवस्थित रुपमा कानुन बनाएर गाडी मोडिफाई गर्न दिने हो भने इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउन सक्ने देखिन्छ । यी गाडीलाई मोडिफाई गर्न कठिन नभएको पुनको भनाई छ । राम्रो ग्यारेज संचालकले सजिलै गाडी परिमार्जन गर्न सक्छ ।


Back_to_top