काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले विद्युतीय सवारी उत्पादनका लागि निक्कै महत्व दिइरहेको छ । विश्वभर विद्युतीय सवारी उत्पादनमा अर्बौं डलर लगानी भइरहेको समयमा कम्पनीले भारतमा ९०० करोड थप लगानी गर्न लागेको हो ।
भारत सरकाले २०३० देखि विद्युतीय सवारीमात्र दर्ता गर्न पाइने नीति लिइरहँदा भारतीय सवारी उत्पादनकहरूले विद्युतीय सवारी उत्पादनमा लगानी बढाउनु स्वभाविक पनि हो ।
महिन्द्रा भारतमा विद्युतीय सवारी उत्पादनको रेसमा पहिलो कम्पनी हो । महिन्द्राले यसअघि भनेको छ, विद्युतीय सवारी उत्पादनका लागि नीति होइन कामको आवश्यकता रहेको छ ।
महिन्द्राले ईभीका उत्पादनका लागि ५ चाकन प्लान्टमा ५ हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ । उक्त लगानीले उत्पादन वृद्धि हुने महिन्द्राको भनाई छ ।
उक्त प्लान्टबाट महिन्द्राले विद्युतीय सवारीमात्र होइन, अन्य कम्पोनेन्टजस्तै ई–मोटर, कन्ट्रोलर, व्याट्रि प्याकलगायत पनि उत्पादन गरिने जनाएको छ ।
विद्युतीय सवारीका लागि महिन्द्राले बनाएको योजना भने ९ हजार करोड भारुको हो । ५ हजार करोड भारु चाकन प्लान्टमा र बाँकी ४ हजार करोड भारु अर्को प्लान्टमा लगानी गर्नेछ ।
महिन्द्राले महाराष्ट्र सरकारसँग समेत विद्युतीय सवारी प्रवद्र्धनका लागि एमओयू गरिसकेको छ । आगामी एक वर्षभित्रमा १ हजार विद्युतीय कार बनाउनका लागि महिन्द्रा र महाराष्ट्र सरकारबीच सहमति भएको हो । विद्युतीय सवारीको प्रवद्र्धनमा यो कदम महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
आम–मानिसमा विद्युतीय सवारीप्रति चासो नहुनुको कारण विद्युतीय सवारीमा विभिन्न मोडल नआउनु रहेको महिन्द्राको बुझाई छ । महिन्द्राले विद्युतीय सवारीको प्रविधिमा नेक्स जेनेरेसनको विकास गरिरहेको छ ।
सरकारी तथा निजी दुवै क्षेत्रलाई उपयुक्त हुने सवारीको विकास गरिने दाबी महिन्द्राको छ । त्यतिमात्र होइन, भारतमै उत्पादन हुने अन्य ब्राडका साथै विदेशबाट आयात गरिने विद्युतीय सवारीसँग समेत प्रतिस्पर्धा गर्न सक्षम हुने गरी सवारीका मोडल बजारमा ल्याइने महिन्द्राले जनाएको छ ।